ad ad

राजनीति


गृहप्रदेश कोशीमा पनि काम नलाग्ने भयो ओलीको ‘सर्वसम्मति सूत्र’

अध्यक्षमा भिड्दै एकै जिल्लाका घनश्याम र विनोद
गृहप्रदेश कोशीमा पनि काम नलाग्ने भयो ओलीको ‘सर्वसम्मति सूत्र’

फाइल तस्बिर


सागर न्यौपाने
असोज १२, २०८० शुक्रबार २१:३७, काठमाडौँ

‘अलिकति पार्टीका नेताहरुको, नेतृत्वको के मूल्याङ्कन छ, इशारा पनि बुझ्नुस् र काम गर्नुहोस्,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन विराटनगरमा उद्घाटन गर्दै निर्देशनात्मक शैलीमा भने। 

अध्यक्ष ओलीको निर्देशन दिनुभन्दा पहिले नै कोशी प्रदेशको नेतृत्व लिन नेताहरु घनश्याम खतिवडा र विनोद ढकालले दौडधूप तीव्र पारिसकेका थिए। उनीहरु शुक्रबार बिहानैदेखि एमालेमा प्रतिनिधिहरुसँगको संवादमा जुटिसकेका देखिन्थे।

एक हप्तादेखि नै यी दुई नेताले एमालेको चुनावी माहोल तताइसकेका छन्।

सायद त्यही माहोल देखेर हुनुपर्छ अध्यक्ष ओलीले विराटनगर पुग्नेबित्तिकै नेतृत्वको इशारा बुझ्न अधिवेशनमा आएका प्रतिनिधि र कार्यकर्तालाई निर्देशन दिएका हुन्।

अझै पनि उनको चाहना सर्वसम्मत नेतृत्व चयन गर्नेमै छ। गृहप्रदेश भएकाले पनि अध्यक्ष ओलीले कोशीको अधिवेशनलाई विशेष चासो दिएका छन्। 

तर, ओलीको चाहना पूरा हुने सम्भावना कमजोर भइसकेको छ। लुम्बिनी, बागमती र कर्णालीमा चुनावबाटै नेतृत्व चयन भएकोले कोशीमा पनि चुनाव रोकिने सम्भावना न्यून रहेको नेताहरु बताउँछन्। 

‘नेताहरु चुनावबाट पछि हट्ने सम्भावना न्यून छ,’ एमाले स्थायी कमिटी सदस्य भीम आचार्यले नेपालखबरसँग भने, ‘विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा हुन्छ ।’

आफूले विनोद ढकाललाई सघाएको उनले बताएका छन्। ‘मेरो र मेरा साथीहरुको समर्थन उहाँलाई छ’, उनले थपे।

सर्वसम्मत गर्ने भन्दै केन्द्रले पठाएको नाममा प्रतिनिधिहरुले नमान्ने पनि उनले बताएका छन्।

घनश्याम खतिवडालाई अध्यक्ष केपी शर्मा ओली, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, स्थायी कमिटी सदस्य एवं एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र पोलिटब्युरो सदस्य शेरधन राईले खुलेर समर्थन गरेको विराटनगरमा चर्चा छ। 

१४ जिल्ला रहेको कोशी प्रदेशमा ९९७ प्रतिनिधिले पहिलो अधिवेशनबाट नेतृत्व छान्नेछन्। 

शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गरेको अधिवेशनमा शनिबारबाट बन्दसत्र सुरु हुनेछ। चुनाव भने आइतबार मात्रै हुने सम्भावना छ।

चुनाव रोकिने अवस्था नदेखेकैले हुनुपर्छ अध्यक्ष ओलीले अधिवेशन उद्घाटनमा भने, ‘यदि त्यसो (सर्वसम्मत) गर्न सक्नुहुन्न भने स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नुहोस्, मैले अध्यक्षको हिसाबले केही भनिरहनु आवश्यक छैन।’

दुवै मोरङका, संसदीय निर्वाचनमा पराजित 
यदि घनश्याम र विनोदबीच कोशीको नेतृत्वका लागि प्रतिस्पर्धा भए दुवै प्रतिनिधि सभाको निर्वाचनमा पराजित अनुहार हुने छन्। अहिलेसम्म यी दुई नेताको मात्रै नाम चर्चामा छ। तर, उम्मेदवारी मनोनयनका क्रममा अध्यक्षका आकांक्षी देखिन पनि सक्छन्।

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा खतिवडा मोरङ १ र ढकाल मोरङ ४ मा पराजित भएका थिए। खतिवडालाई कांग्रेसका डिगबहादुर लिम्बु र ढकाललाई माओवादी केन्द्रका अमनलाल मोदीले हराएका थिए। 

अहिले ढकाल एमाले केन्द्रीय सदस्य र धनकुटा इञ्चार्ज छन्। रोचक संयोग कस्तो छ भने, यसअघि ढकाल र खतिवडा एमाले मोरङको पाँचौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका पनि प्रतिस्पर्धी थिए।

त्यसबेला माधवकुमार नेपाल पक्षबाट खतिवडा र केपी ओली पक्षबाट ढकाल उम्मेदवारका रुपमा मैदानमा थिए। तर चुनाव ढकालले जिते। काठमाडौंमा भएको एमालेको नवौँ केन्द्रीय महाधिवेशनताका नेपाललाई छोडेर खतिवडा ओलीतिर खुले।

सुरुदेखि ओलीको पक्षमा रहेका ढकालले दुईपटक मोरङ अध्यक्षका रुपमा काम गरिसकेका छन्। 

५४ वर्षीय ढकाल पहिलो संविधानसभा र २०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका प्रमुखमा उठेर पनि पराजित भए। त्यसपछि उनको अर्को पराजय गत मंसिरको थियो।

६२ वर्षका खतिवडा भने २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा मोरङको लेटाङ गाविस अध्यक्षमा निर्वाचित भए । 

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित उनले तिनै लिम्बूलाई हराउँदै २०७४ सालमा मोरङ १ बाट प्रतिनिधिसभा सदस्य जित्न सफल भए। 

यी दुई नेता प्यानलै बनाएर भिड्न तयार भएका बेला लुम्बिनी र बागमतीमा चुनावबाटै नेतृत्व चयन भएपछि कोशीमा सर्वसम्मति गर्ने अध्यक्ष ओलीको प्रयास सफल नहुने नेताहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .