संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले छिटोभन्दा छिटो इजरायलमा रहेका नेपालीहरूको उद्धारमा लाग्न सरकारलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक दलका नेताहरूले इजरायलमा अलपत्र नेपालीहरूलाई सुरक्षित स्थानमा लैजानका लागि सुझाव दिएका हुन्।
सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले तदरुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको बताए।
‘सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ। सबै नेपालीलाई सुरक्षित राख्ने र जोखिममुक्त बनाउन सरकारले कदम अघि बढाएको जानकारी भएको छ,’ लेखकले बैठकपछि सञ्चारकर्मीसँग भने।
उनका अनुसार इजरायलबाट फर्कन चाहने नेपालीका लागि जहाज पनि तयारी अवस्थामा रहेकोबारे प्रधानमन्त्रीले बैठकमा ब्रिफिङ गरेका थिए।
‘सरकारले जानकारी दिने काम भयो। सबै नेताहरूले यही विषयमा आफ्नो आफ्नो कुरा राख्नुभयो,’ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने।
उनले इजरायल घटनामा सबै दल र देश एकै ठाउँमा उभिनुपर्ने धारणा आएको बताए। ‘समग्र पार्टी र देश एकै ठाउँमा छ भन्ने विषयवस्तु आयो’, उनले भने।
‘देशभित्र फर्कन चाहनेहरुलाई सकुशल फर्काउने कुरामा नै सबैले जोड दिनुभएको छ। सरकारलाई सुझाव दिने काम पनि भएको छ।’
असुरक्षित ठाउँमाा रहेका नेपालीहरूलाई सुरक्षित ठाउँमा राख्ने काम सरकारबाट भएको भन्दै कांग्रेस सचेतक लेखकले भने, ‘त्यसका लागि सरकारले पहल गर्ने। जतिसक्दो चाँडो देशभित्र शव ल्याउनेबारे छलफल भयो।’
Shares

प्रतिक्रिया