एमाले मधेश प्रदेशका निवर्तमान उपाध्यक्ष रेवती पन्त पार्टीको प्रदेश अध्यक्षको दाबीबाट पछि हटेका छन्।
एमालेको जनकपुरमा जारी मधेश प्रदेश अधिवेशन नेतृत्व चयन प्रक्रियामा प्रवेश गरिरहँदा नेता पन्त भने प्रदेश अध्यक्षमा दाबी नगर्ने मनस्थितिमा पुगेका हुन्।
एमाले सर्लाहीका पूर्व अध्यक्षसमेत रहेका पन्तमाथि सर्प पाल्ने नाममा राज्यको १८ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
पन्त अध्यक्ष रहेको सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम उत्पादन गर्ने परियोजनामा कामै नगरी राज्यको झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ।
यो अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आइतबार विशेष अदालतमा पन्तसहित सात जनाविरुद्ध मुद्दासमेत दायर गरेको छ।
शनिबारसम्म आफूलाई प्रदेश अध्यक्ष बनाउन लबिङ गर्दै हिँडेका पन्त आफूलाईसमेत प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएपछि मौन बसेका एमाले सर्लाहीका एक नेताले जानकारी दिए।
‘रेवती जी शनिबारसम्म म पार्टीको मधेश प्रदेश अध्यक्षको दावेदार हुँ, तपाईंले पनि सहयोग गर्नुपर्छ है भनिरहनु भएको थियो,’ ती नेताले नेपालखबरसँग भने, ‘तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा १८ करोडको मुद्दा दायर गरेपछि मलाई अध्यक्षमा सहयोग गर्नुपर्याे भन्न छाड्नु भएको छ। उहाँ अधिवेशनमा पनि त्यति सक्रिय देखिनु भएको छैन।’
Shares

प्रतिक्रिया