ad ad

राजनीति


एनआरएन नागरिकतासम्बन्धी छलफलमा किन आक्रोशित भइन् रामकुमारी झाँक्री?

एनआरएन नागरिकतासम्बन्धी छलफलमा किन आक्रोशित भइन् रामकुमारी झाँक्री?

वसन्त अर्याल
कात्तिक २, २०८० बिहिबार १३:५३, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशन तथा विश्व सम्मेलन काठमाडौँमा जारी छ। त्यसैअन्तर्गत बिहीबार नागरिकता ऐन र मतदानको अधिकारसम्बन्धी छलफलको बेग्लै सत्र थियो।

त्यहाँ छलफलका एक सहभागीले संसदले बनाएको कानुनलाई ‘कागजको खोस्टो’ भनेपछि वातावरण केही गरमागरम भयो।
 

ती सहभागीले गैरआवासीय नेपालीलाई सम्पत्ति खरिद गर्न नपाउने र विदेश गएका नेपालीले अरू नेपालीसरह सुविधा नपाउने गरी संसदले समस्यापूर्ण कानुन बनाएको बताएका थिए। 

‘तपाईं आफै सांसद भएको संसदले समस्यापूर्ण कानुन ल्यायो,’ ती प्रतिनिधिले भने,‘एउटा कागज (नागरिकता ऐन) बनाएर प्रशंसा गर्न खोज्दै हुनुहुन्छ।’

त्यसैमा सही थाप्दै अर्का प्रनिनिधिले विश्वमा कुनै देशमा नागरिकता दिने तर राजनीतिक अधिकार नहुने व्यवस्था नभएको टिप्पणी गरे। 

‘नेपालका सबै आन्दोलन लडेका नेपाली विदेश पैसा कमाउन गएका हुन्। उनीहरूलाई अधिकारबिनाको नागरिकता दिन भनिएको छ,’ ती प्रतिनिधिले भने,‘विदेशमा बस्ने नेपालीलाई पनि वंशजको नागरिकता दिनुपर्छ। नेपाली नागरिकलाई विदेशी बनाउने त्यो खोस्टोमा के लेखेको छ?’
 
बेल्जियममा बसोबास गर्दै आएका मदन दवाडीले विदेशमा बस्ने नेपालीको डीएनएमै नेपाली रहेको बताए। 

‘हामीले पासपोर्ट ल्याएको देशले हामीलाई नेपालको नागरिक भन्छ भने नेपालको कानुनले हामीलाई विदेशी नागरिक भन्छ,’ दवाडीले प्रश्न गरे,‘हामी कहीँको पनि रहेनौं। पहिलाको नागरिकतालाई निरन्तरता हुँदा नेपाललाई के घाटा हुन्छ?’

पूर्वसांसद समेत रहेकी रामकुमारी झाँक्रीले विदेशको नागरिकता लिन मरिहत्ते गर्नेले नेपालमा आएर ठूला कुरा गरेको नसुहाएको बताइन्। 

नागरिकता ऐन पास भएपछि स्वागत गर्नुको सट्टा विरोध गरेको भन्दै उनले आपत्ति जनाइन्। 

हरेक देशको नागरिकतासम्बन्धी कानुन सम्बन्धित देशको विशिष्टतामा आधारित हुने उनको भनाइ थियो। 

‘सिटिजनसिप र त्यसका अधिकार ग्लोबल होइनन्,’ उनले भनिन्,‘मानव अधिकार विश्वव्यापी हुन्छ तर सिभिल राइट देशको क्षेत्रभित्र पर्छ।’

उनले नेपालको नागरिकता आफ्नो खुसीले त्यागेको भन्दै गैरआवासीय नेपालीलाई नेपालमा लगानी, प्रविधि र सीप भित्र्याउनको लागि एनआरएनए नागरिकता दिने व्यवस्था गरिएको भनेर प्रस्ट्याउन खोजिन्। 

विदेशको नागरिकता लिनेलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुन्छ तर भोटिङ गर्ने राजनीतिक अधिकार नहुने गरी कानुन बनाएको सुनाइन्। 

‘सोच विचार गरी बनाइएको कानुनलाई कागजको खोस्टो हो, कानुन बनाउनेलाई फाँसी हुन्छ भन्ने? यही हो सभ्यता? के सिक्नुभयो,’ आक्रोशित हुँदै झाँक्रीले भनिन्,‘ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो?’

उनले विदेशबाट नेपालको राजनीतिबारे नकारात्मक टिप्पणी गरी नयाँ पुस्तालाई अतंककारी बनाउन लागेको समेत आरोप लगाइन्। 

‘नेपालको कानुन कस्तो हुने तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो,’ झाँक्रीले भनिन्,‘नागरिकता त्यागिसकेपछि अधिकारको विषयमा बोल्न पाइँदैन।’

नेपाली नागरिकता भएकालाई सबै अधिकार हुने तर विदेशीलाई मानव अधिकार र आर्थिक अधिकारको मात्रै संरक्षण गर्ने उनले तर्क गरिन्। 

छलफलमा पूर्वउपसभामुख चित्रलेखा यादव र पूर्वसांसद सूर्य पाठकसमेत थिए।

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरिसकेको छ। अध्यक्षद्वय कुल आचार्य र बद्री केसीले गैरआवासीय नेपाली नागरिकता लिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .