राजनीति


पुराना दलहरूको अग्नि परीक्षा हुँदैछ, टाउको समाएर मात्रै हुँदैन : माधव नेपाल

पुराना दलहरूको अग्नि परीक्षा हुँदैछ, टाउको समाएर मात्रै हुँदैन : माधव नेपाल

कांग्रेसले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधव नेपाल लगायत। तस्बिर : सरोज बैजु


नेपालखबर
कात्तिक ११, २०८० शनिबार १६:३७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुराना दलहरूका अगाडि संकट सिर्जना भएको भन्दै अहिले टाउको समाएर मात्रै बस्नु नहुने बताएका छन्। 

शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन सानेपा पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन्।

‘सबै पार्टीमा विभिन्न व्यक्ति आवद्ध हुनसक्छन्। एक अर्कासँग प्रतिस्पर्धा गर्न सक्छन्। प्रतिस्पर्धालाई ध्यानमा राखेर प्रत्येक पार्टीले जनताको विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्छ,’ अध्यक्ष नेपालले भने। 

उनले अहिले नयाँ दलहरू अग्नि परीक्षामा रहेको उल्लेख गरे। 

‘हामी अग्निपरीक्षामा छौं। हामीले पुनः जाँचिनुपर्छ भने हामी तयार छौं। अहिलेको संकटमा निराश भएर टाउको समाएर मात्रै हुँदैन,’ अध्यक्ष नेपालले भने।

उनले नेपाली समाज रहुन्जेल, नेपाली जाती रहुन्जेल, उनीहरुले अपनाउँदै आएका सांस्कृतिक परम्पराहरू अनुसार जातीय सद्भाव कायम गर्नपर्ने पनि बताए। 

अध्यक्ष नेपाललाई सञ्चारकर्मीले पुराना दलमाथि उठिरहेको प्रश्नको सामूहिक जवाफ दिनसक्ने अवस्थामा हुनुहुन्छ? भन्दै प्रश्न गरेका थिए। 

जवाफमा उनले भनेका छन्, ‘वास्तवमा विगतमा पनि अप्ठेरो बेलामा, संकटको बेलामा, चुनौतीको बेलामा, परिवर्तनको आवश्यक्ताको बेलामा हातेमालो गर्दै अघि बढिएको छ। अहिले नकारात्मक विषयलाई मात्रै नभई सकारात्मक विषयमा पनि हातेमालो गर्दै अघि बढ्नुपर्छ।’

जब मूल प्रवाहका राजनीतिक दलहरूले बिराउन थालेपछि जनताले खबरदारी गरेको पनि उल्लेख गरे। 

‘जनताले खबरदारी गर्ने गर्छन। त्यो जनताको कर्तव्य हो। समयमा त्यो खबरदारीलाई सकारात्मक रुपमा लिनुपर्छ। हामी विचलित नभई देश र जनतामा आफूलाई समर्पित गर्न सक्नुपर्छ,’ अध्यक्ष नेपालले भने।

उनले युद्धसँग सम्बन्धित संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने पनि बताए। संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै अध्यक्ष नेपालले सकारात्मक सन्देश विश्वमा दिनेगरी अघि बढ्नुपर्ने बताए। 

‘धेरै ढिलो भयो। जसरी हामीले छोटो समयमा युद्धलाई टुंग्याउने काममा सफल भएका थियौं, त्यसैगरी द्वन्द्व व्यवस्थापनमा जोडिएका र संक्रमणकालीन न्यायको विषय टुंग्याउन धेरै ढिलो गर्नुहुँदैन,’ अध्यक्ष नेपालले भने, ‘संयुक्त राष्ट्रसंघका महासचिव आउँदै हुनुहुन्छ। उहाँलाई हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .