राजनीति


चीन यात्रामा निस्किन लागेका माधव नेपालको टोलीमा अरु को को छन्?

चीन यात्रामा निस्किन लागेका माधव नेपालको टोलीमा अरु को को छन्?

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १५:३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार अपरान्ह ५ बजे चीन भ्रमणमा जाँदैछन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा नेपाल नेतृत्वको १५ सदस्यीय टोली चीन भ्रमणमा जान लागेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

यसअघि नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चीन भ्रमणमा गएका थिए। 

अध्यक्ष नेपालको चीन भ्रमणबारे सोमबारको सचिवालय बैठकमा ब्रिफिङ गरिएको थियो। गत शुक्रबार गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा सयौँ सर्वसाधारणको ज्यान गएपछि उद्धार र राहत अभियान चलिरहेको छ।

भूकम्पको संकटबीच राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण रद्द गरेका बेला सत्ता साझेदार दलका शीर्ष नेता चीनतर्फ उड्न लागेका हुन्। अध्यक्ष नेपाल स्थानीय समयानुसार एमयु ९६१८ नम्बरको उडानबाट राति १०:२५ बजे खुनमिङ विमानस्थलमा अवतरण गर्नेछन्। 

खुनमिङमा दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला र अनुभव आदानप्रदान कार्यक्रम तय भएको छ। 'सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई' कार्यक्रममा अध्यक्ष नेपालसहित सहभागी हुनेछन्। 

एकीकृत समाजवादीको तर्फबाट जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिसकेपछि नेपालको चीन यात्रा सुरु हुन लागेको हो। 

अध्यक्ष नेपालको भ्रमण टोलीमा उनकी श्रीमती गायत्री आचार्य र कृषिमन्त्री बेदुराम भुसाल पनि छन्। 

अध्यक्ष नेपाल जान लागेको युन्नानले पछिल्लो समय नेपालसँगको सम्बन्ध विस्तारमा जोड दिइरहेको छ। यसअघि गत साउनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि युन्नान पुगेका थिए। 

अध्यक्ष  नेपालको भ्रमण टोलीमा एकीकृत समाजवादीका १२ जना नेता कार्यकर्ता छन्। 

यो टोलीमा कोशीदेखि सुदूरपश्चिमसम्मका नेताहरू सहभागी छन्। समाजवादीका अनुसार भ्रमण टोलीमा विद्या चाम्लिङ, शर्मिला पौडेल, सुधीर साह, विष्णु महतो, लोकबहादुर हमाल, अब्दुल हुसेन खान, मोहन गौतम, हर्कबहादुर सिंह, गणेश विक, विष्णु लम्साल, शमशेर लामा र प्रकाश ढकाल छन्। 

अध्यक्ष नेपाल खुनमिङबाट बेइजिङ पुगेपछि सीपीसीको उच्च नेतृत्वसँग वार्ता हुनेछ। अध्यक्ष नेपालको टोली आगामी कात्तिक २८ गते काठमाडौं फर्किनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .