ad ad

राजनीति


राष्ट्रिय सभा अध्यक्षको विदेशमोह : ६ वर्षमा १०० दिन देशबाहिर

राष्ट्रिय सभा अध्यक्षको विदेशमोह : ६ वर्षमा १०० दिन देशबाहिर

सागर न्यौपाने
मंसिर १२, २०८० मंगलबार २१:४२, काठमाडौँ

नयाँ संविधान जारी भएपछि पहिलोपल्ट गठन भएको राष्ट्रिय सभामा तीनखाले पदावधिका लागि चिट्ठा तान्ने व्यवस्था मिलाइएको थियोः २ वर्षे, ४ वर्षे र ६ वर्षे। 

यस्तो चिट्ठा तान्ने व्यवस्था एकपटकका लागि मात्र गरिएको हो। 

स्थायी सदन भनिने राष्ट्रिय सभाको अन्त्य हुँदैन भन्ने मानिन्छ। सबैको कार्यकाल एकैपटक सकिँदैन। जतिको सकिन्छ, तत्काल चुनावबाट पूर्ति भइहाल्छ।

२०७४ फागुन २० गते राष्ट्रिय सभा सदस्यको चुनाव हुँदा गणेशप्रसाद तिमिल्सिनाको भागमा ६ वर्षे कार्यकालको चिठ्ठा पर्‍यो। सोही महिनाको २८ गते उनलाई अर्को चिठ्ठा पर्‍यो– राष्ट्रिय सभा अध्यक्षको।

५९ सदस्यीय सभामा एक्लैको उम्मेदवारी परेपछि उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित बने। २०७२ को संविधान जारी भएपछि उनी राष्ट्रिय सभा अध्यक्ष बन्ने पहिलो व्यक्ति हुन्। यस हिसाबले उनले प्राप्त गरेको पद निकै ओजिलो थियो।

किनभने, राष्ट्रिय सभालाई विज्ञहरूको सदन मानिन्छ र तल्लो सदनले गरेका कतिपय त्रुटि र कमजोरीसमेत उपल्लो सदनबाट सुधार हुने अपेक्षा गरिन्छ। सदनको नेतृत्व गर्ने व्यक्तिका हिसाबले तिमिल्सिनाको भूमिका यसमा केन्द्रित हुनुपर्थ्यो। 

तर, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको खास ध्यान भने सभा र स्वदेशमा होइन, विदेशमा बढी केन्द्रित भएको गएका ६ वर्षको उनको भ्रमणतालिकाले देखाउँछ।

६ वर्षमा सय दिन विदेशमा 

अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा करिब डेढ दर्जनपटक विदेश भ्रमण गरेको देखिन्छ। यस अवधिमा उनी एक सयभन्दा बढी दिन विदेशमा रहेको हिसाब निस्कन्छ। दक्षिणी छिमेक भारत र अनौपचारिक भ्रमणबाहेकको हिसाब गर्दा १३ भ्रमणमा ८९ दिन विदेशमा रहेको देखिन्छ (हेर्नुहोस् तालिका) ।

कोरोना कालको केही समयलाई छाड्ने हो भने तिमिल्सिनाले वैदेशिक भ्रमण नगरेको कुनै वर्ष छैन। एकै महिनामा दुईपटकसम्म विदेश भ्रमणमा पनि उनी गए।

तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख मंसिर ११ गते अस्ट्रेलिया भ्रमणमा गएका छन्। 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद् सहयोग परियोजनाअन्तर्गत १२ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी गएका हुन्। एक हप्तामा भ्रमण टोलीले अस्ट्रेलियाको संसद् र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदका अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। 

उनी मंसिर १८ गते स्वदेश फर्किने तालिका छ। जबकि, प्रतिनिधिमण्डलका बाँकी सदस्य भने १६ गते नै फर्किनेछन्। 

 त्यसअघि तिमिल्सिना कात्तिक ४ गते अफ्रिकी मुलुक एङ्गोलाको लुवान्डा गएका थिए। नौ सदस्यीय प्रतिनिधि मण्डल लिएर गएका उनले कात्तिक ६ देखि १० सम्म अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४७ औँ महासभामा भाग लिए। 

त्यसको एक महिनाभित्रै उनी अस्ट्रेलिया भ्रमणमा गएका हुन्।

८ महिनामै ५ भ्रमण

यो वर्ष मात्र उनले कम्तीमा ५ पटक वैदेशिक घुमघाम गरिसकेका छन्। 

२०८० वैशाख ६ गते तिमिल्सिना रुसको साताव्यापी भ्रमणमा निस्किए। रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा उनी ८ सदस्यीय टोलीको नेतृत्व गर्दै रुस गए। रूस-युक्रेन युद्ध चलिरहेको र संयुक्त राष्ट्र संघमा नेपालले युक्रेनका पक्षमा उभिएका बेला तिमिल्सिनाले गरेको त्यो भ्रमण कूटनीतिकरूपमा विवादित पनि भएको थियो।

फेरि वैशाखकै १९ गते उनी कोलम्बिया भ्रमणमा गए।

त्यसपछि तिमिल्सिनाले २०८० जेठ २७ गते चीनको औपचारिक भ्रमण गरे। सो क्रममा तिब्बतमा पनि एक हप्ता बिताए।

बेइजिङमा रहँदा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग द्विपक्षीय वार्ता गरे। 

यस्तै, चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष दोङ युन्हुसँग पनि भेट गरे। 

उनको चीन भ्रमण यतिमै सकिँदैन। त्यसको ३ महिनापछि फेरि उत्तरतिरै लाग्छन्। 

गत भदौ २१ गतेदेखि एक साताका लागि उनी तिब्बत निस्किएका थिए। त्यसक्रममा कैलाश मानसरोवरको पनि यात्रा गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। 

मौका पाए नछाड्ने

राज्यका उपल्ला पदाधिकारीलाई भ्रमणमा निम्त्याउन चाहने देश वा संघसंस्था धेरै हुन्छन्। तीमध्ये कुनमा जाने, कुनमा नजाने र कति समय बिताउने भन्ने कुरा आफ्नो जिम्मेवारी र प्राथमिकता, पदीय मर्यादा, राष्ट्रको प्रतिष्ठा र परराष्ट्र नीतिका आधारमा तय गर्नुपर्ने हुन्छ।

तर, संघीय संसदको उपल्लो सदनका प्रमुखले मौका पायो कि घुम्न नछाड्ने नीति लिएको देखिन्छ।

संसदका अधिकारीहरूका अनुसार, वर्षमा दुईपटक अन्तरव्यवस्थापिका संघ (आईपीयू)को बैठकमा सहभागिताका लागि निम्तो आउँछ, जसमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पालैपालो सहभागिता जनाउने अभ्यास छ। तर, पछिल्ला वर्षहरूमा आईपीयूका सबैजसो कार्यक्रममा आफै जान अघि सरेका छन्।

आईपीयू १४१ देखि १४७ औँसम्मका अधिकांश बैठकमा उनी सहभागी भएको देखिन्छ।

जस्तो कि १४१ औँ (सर्बिया), १४३ औँ (कम्बोडिया), १४४ औँ (इन्डोनेसिया), १४५ औँ (रुवान्डा) १४६ औँ (कोलम्बिया) र १४७ औँ (एंगोला) मा उनी आफै पुगेका छन्।

तिमिल्सिनाले अघिल्लो वर्ष पनि ज्यादै वैदेशिक भ्रमण गरेका थिए।

२०७९ असोज २५ मा अफ्रिकी मुलुक रुवान्डामा भएको अन्तर व्यवस्थापिका संघको १४५ औँ सम्मेलनमा भाग लिए। उनी त्यहाँ असोज २९ सम्म रहे। 

त्यसपछि एक हप्ताभित्रै कात्तिक ८ गते बेलायत पुगेका उनले त्यहाँको हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलसँग भेटवार्ता गरे। 

फेरि मंसिर ५ मा कम्बोडिया पुगेर एक हप्ता घुमफिर गरे। 

२०७९ फागुन ४ देखि १० सम्म संयुक्त अरब इमिरेट्स् (यूएई)को भ्रमण गरे।

२०७८ चैत ६ देखि १० सम्म इन्डोनेसियामा ११० राष्ट्रका प्रतिनिधिको सहभागितामा अन्तरव्यवस्थापिका संघको १४४ औं सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उनैले गरे। त्यसका लागि उनी चैत ४ गते नै गए भने ११ गते स्वदेश फर्किए। 

२०७७ चैत २३ गते स्पेनको एक्सत्रेमदुरा राज्यको काथेरेस सहरमा भएको शान्ति सम्मेलनमा १० सदस्यीय प्रतिनिधिमण्डल लिएर गएका उनी २०७८ वैशाख १ मा नेपाल फर्किए। 

त्यसअघि, २०७६ भदौ १८ मा दक्षिण कोरियाको औपचारिक भ्रमणमा गएका तिमिल्सिनाले कोरियाका राष्ट्रिय सभा अध्यक्ष कुन्ही साङसँग  भेटवार्ता गरे।

२०७६ असोज २६ मा आईपीयूको १४१ औं सम्मेलनमा भाग लिन सर्बियाको बेलग्रेड पुगेका थिए। 

आगामी फागुन २० गते तिमिल्सिनासहित २० जना राष्ट्रिय सभाका सदस्यहरू पदमुक्त हुँदैछन्। उनीसँगै सबैभन्दा लामो अवधिको चिट्ठा पार्ने ८ नेता पनि घर फर्कनेछन्।

निर्वाचन आयोगले रिक्त सदस्यको माघभित्र चुनाव गर्न सरकारलाई सुझाव दिइसकेको छ। 

कार्यकालको अन्तिमतिर पुगे पनि विदेश भ्रमणको चाँजो मिलाउन र प्राप्त भएका कुनै पनि निम्ता छुटाउन नचाहेको अस्ट्रेलिया भ्रमणबाटै देखिन्छ। 

खर्च कसको?

संघीय संसद् सचिवालयका अनुसार, आईपीयूमा जाँदा प्रायः सम्पूर्ण खर्च संसद सचिवालयले बेहोर्छ। चीन र संयुक्त राष्ट्र संघले गरेको कार्यक्रमको हकमा मात्र आयोजकले खर्च बेहोर्छन्।

सचिवालयका प्रवक्ता एकराम गिरी भने सभामुख र राष्ट्रिय सभाका अध्यक्ष पालैपालो आईपीयूको भ्रमणमा जाने गरेको बताउँछन्।

‘नेपाल आईपीयूको सदस्य राष्ट्र भएकाले वर्षमा दुईपटक सभामुख र राष्ट्रिय सभा अध्यक्षका लागि विभिन्न सम्मेलनमा जान निम्ता आउँछ,’ गिरीले नेपालखबरसँग भने, ‘यो क्रम संविधान सभादेखि सुरु भए पनि त्यसबेला संविधान सभा अध्यक्ष सुवास नेम्वाङ थोरैमा सहभागी हुनुभयो। उहाँको जोड संविधान निर्माणमै थियो।’

राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएदेखि तिमिल्सिनाले तुलनात्मकरूपमा ज्यादा विदेश भ्रमण गरेको र जुन अस्वाभाविक रहेको संघीय संसद सचिवालयका अधिकारीहरू बताउँछन्।

अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा डेढ दर्जनपटक भ्रमण गरेको देखिन्छ। तर, उनको अनौपचारिक भ्रमण धेरै भएको संसद् सचिवालय स्रोतले जानकारी दियो।

‘अध्यक्षज्यूले यता एउटा देशमा कार्यक्रम देखाएर अन्य देश भ्रमण मिलाउने गर्नुभएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘उहाँको अनअफिसियल भिजिट भएका मुलुक धेरै छन्।’

संसदले बढीमा एक हप्ताको विदेश भ्रमणका लागि मात्र भत्ता उपलब्ध गराउँछ। त्यसैले तिमिल्सिनाका प्रायः भ्रमण एक हप्तासम्मका देखिन्छन्।  

‘अहिले विदेशका कार्यक्रममा जाने संख्या बढेको छ। संसदीय व्यवस्था अपनाएका मुलुकले अनुभव आदानप्रदानको लागि निम्ता पठाउँछन्, अनि यताबाट सहभागी बन्न जाने हो,’ प्रवक्ता गिरी भन्छन्, ‘यदि काम विशेषले अनुकूल नभए अर्कै हो, नत्र एउटामा सभामुख सहभागी भए अर्काे कार्यक्रममा अध्यक्ष जाने अभ्यास छ।’

उनका अनुसार, दुई सदनात्मक व्यवस्था अपनाएका मुलुकले क्रस गरेर निम्ता पठाउँछन्, माथिल्लो सदनले तल्लो सदनलाई र तल्लो सदनले माथिल्लो सदनलाई ।

सभामुख वा अध्यक्षले विदेश भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र संसदको व्यवस्थापन समितिलाई जानकारी दिनुपर्ने व्यवस्था छ।

‘भ्रमण, कार्यक्रम वा सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्रालयमार्फत् जानकारी गराउनुपर्छ,’ गिरीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .