ad ad

राजनीति


एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छ : वर्षमान

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छ : वर्षमान

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १८:२४, काठमाडौँ

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्ने गरी ठूलो आर्थिक चलखेल भएको बताएका हुन्।

सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउन नमिल्ने भन्दै उनले बदमाशी पुष्टि हुने आधार सरकारसँग रहेको बताए।

पुनले आफ्ना पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने गरी कारबाही गरिने जनाए।

‘सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो। आउने बित्तिकै सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नेमा सहमत गराउनुभयो। भोलिपल्टै मन्त्रिपरिषदले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ’, उनले भने, ‘यो तहको राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन। सिंगो पार्टी र जनता माफियाकरणविरुद्धको अभियानमा सरकारको साथमा छ।’

पुनले एनसेल प्रकरणमा कर छली गरी राज्यलाई ठगी तथा देशविरुद्धको काम गरिएको प्रथम दृष्टिमै प्रष्ट हुने गरी तथ्यहरु बाहिरिएको स्पष्ट गरे। वर्तमान सरकारले सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको चन्दै उनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियान त्यसको ज्वलन्त उदाहरण भएको बताए।

अघिल्ला प्रकरणमा जस्तै एनसेल प्रकरणमा पनि सरकारले दृढतापूर्वक काम गर्ने र दोषी कारबाहीमा पर्ने उनको भनाइ थियो। पुनले केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा समेत सरकार रहेको जानकारी दिए।

सरकारले सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई प्राथमिकतामा राखेको पुनले बताए। फरक प्रसंगमा उनले मुलुकमा दक्षिणपन्थी हावा चलाउन खोजिएको भन्दै जनताको बलमा इतिहासको डंगुरमा मिल्माइसकिएको राजतन्त्र फर्कने कुनै सपना नदेख्न चेतावनी दिए।

‘निरंकुश राजतन्त्र इतिहासको डंगुरमा मिल्काइएको फोहोरको डंगुर हो। त्यसलाई उठाउन नखोजियोस्’, उनले भने, ‘गणतन्त्रविरुद्ध लड्न खोज्नु भनेको पहरामा कुहिनो ठोकाउनु सरह हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .