ad ad

राजनीति


१८ दिनमा १८ सय किलोमिटर छिचोलेको एमालेले मध्यपहाडमा के देख्यो?

१८ दिनमा १८ सय किलोमिटर छिचोलेको एमालेले मध्यपहाडमा के देख्यो?

दैलेखमा राउटे मुखियासँगको भेटमा केपी ओली। तस्बिर : नेपालखबर


सागर न्यौपाने
पुस १, २०८० आइतबार २३:३५, काठमाडौँ

नेकपा एमालेले १८ दिन लगाएर बैतडीदेखि पाँचथरसम्म गरेको सडक यात्राबाट केही नयाँ तथ्य र समस्या फेला पारेको नेताहरुले बताएका छन्। 

यात्राका क्रममा पार्टी संगठन चलायमान नभएको, जनताको अवस्था र समस्या समाधानमा जनप्रतिनिधिको बलियो भूमिका नदेखिएको तथ्य एमालेले बटुलेको छ। त्यस्तै मुलुकको शासन शैली र कर्मचारी प्रशासनको अवस्था ३० जिल्ला पुग्दा छर्लङ्ग भएको उनीहरु बताउँछन्।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ कार्यक्रम मंसिर १४ गते उत्तराखण्डको सीमाक्षेत्रबाट सुरु भएर आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङस्थित सिक्किमको सिमाना पुगेसँगै सकिएको छ। 

कार्यक्रमको मुख्य उद्देश्य ४५ वर्षमुनिका युवालाई पार्टी अभियानमा समेट्ने थियो। र, सुरुमा मिसन युथ मध्यपहाडी लोकमार्ग यात्रा गर्ने योजना अघि सारेर अन्तिममा संशोधन गरिएको थियो।

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यात्राका क्रममा केही समस्या र नयाँ तथ्य फेला पारेको बताए।

पार्टीका नेता जनताको घर पुग्न छाडेको र केन्द्रीय तहका नेताहरु गाउँ र जिल्लाका समस्या समाधान गर्न गम्भीर नबनेको कुरा उठेका छन्। 

युवालाई समेट्ने र उत्साह जगाउने कार्यक्रम नै नहुँदा पार्टीतर्फ आकर्षण पैदा नभएको उनी बताउँछन्। 

‘एमाले लगायत पुराना दलप्रति जनतामा निराशा, वितृष्णा र अविश्वास छ भन्ने कुरा सत्य होइन रहेछ,’ गुरुङले नेपालखबरसँग भने, ‘जनताको पीर–मर्का बुझ्ने मात्रै होइन, समस्या सम्बोधन गर्न हाम्रो विकल्प छैन भन्ने निष्कर्ष हामीले भेटेकाहरूबाट पायौँ।’

संकल्प यात्राका क्रममा एमालेले कम्तीमा ३० जिल्लाको भूमि टेकेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

‘समग्रमा यो यात्राले जनता र कार्यकर्ता एकसाथ परिचालन गर्यो,’ ज्ञवालीले भने, ‘हामीलाई थुप्रै समस्या पहिचान गर्ने अवसर प्राप्त भएका छन्, ३० जिल्लाबाट प्राप्त विशिष्ठ समस्या फाइलिङ गरेका छौँ, अब ती समस्या सम्बोधनका लागि संसद्मा आवाज उठाउँछौँ।’

उपमहासचिव गुरुङले चुनावको बेला मात्रै जनताकहाँ पुग्ने कुरा अन्त्य भएको बताउँदै पहाडका कुना काप्चामा बस्ने नेपाली जनताको अवस्था र भूगोल बुझ्ने काम गरेको दाबी गरे।

‘अहिले विकासको काम ठप्प छ, तर भ्रष्टाचार बढेको छ, कर्मचारीको मनपरी छ, सुशासन छैन, अनियमितता व्याप्त रहेछ,’ गुरुङले संकल्प यात्रामा एमालेले पहिचान गरेको कुरा सुनाए, ‘जनप्रतिनिधिले आश जगाउने काम गर्न सकेका छैनन्। कार्यक्रम डिजाइन नै राम्रो हुन सकेको रहेनछ।’

गण्डकीका पूर्वमुख्यमन्त्री उनी थप्छन्, ‘देश विकास गर्ने हो भने युवालाई नेपालमै राख्न आवश्यक छ। गाउँ रित्तिने क्रम रोक्न मेगा प्रोजेक्टहरु निर्माण छिटो हुनुपर्ने रहेछ, पूर्वाधारको तीव्र विकासले आर्थिक समृद्धिलाई सघाउ पुर्याउने देखियो।’ 

‘पार्टीका नेताहरु बैठक नराख्ने, नीति तथा कार्यक्रम नबनाउने, जनताको समस्या समाधानमा केन्द्रित नहुने, जनताका एजेन्डामा पहल नगर्ने, स्थानीय हुन वा केन्द्रीय सघन रुपले कोही नलाग्दा अब केही नहुने चिन्ता बढेको हो, यो यात्राले केही हदसम्म रोक्ने अपेक्षा छ’, उनले अगाडि थपे।

उपाध्यक्ष ज्ञवाली पनि जनतामा देशभित्रै आकर्षण पैदा गर्न ठूला विकास आयोजना निर्माण हुनुपर्नेमा त्यसो नहुँदा केही हुँदैन भन्ने निराशा बढेको बताउँछन्। 

‘लोकमार्गहरु ४ लेन, ६ लेन बनाएर कालोपत्रे गर्ने हो भने घरअगाडिको विकास देखेर मानिस बसाइँँसराई गर्दैनन्, विकासले सम्भावना खोजी गर्ने रहेछ, पछिल्ला दिन ती सबै काम अवरुद्ध भएपछि मानिसहरु सुविधा खोज्दै गाउँबाट राजमार्ग झरे, त्यहाँबाट अझै सुगमतिर जान बाध्य भएको देखियो,’ ज्ञवालीले भने।

अब के गर्ने?
एमालेले यात्राका क्रममा केही ठाउँमा सभा पनि गर्यो। सभालाई अध्यक्ष केपी शर्मा ओलीले मात्रै सम्बोधन गरे।

त्यसबाहेक औपचारिक रुपमा विभिन्न जिल्लाबाट सुझाव र समस्याहरू दलहरू र सर्वसाधारणले लिखित रुपमा ओलीलाई दिएका छन्।

‘आर्थिक क्रान्तिका लागि जनतामा जागरण ल्याउने काम भएको छ,’ उपाध्यक्ष ज्ञवालीले यात्राको व्याख्या गर्दै भने, ‘लगभग जनतामा टुटेको आशालाई फेरि जगाउन सफल भएका छौँ, तर यतिले पुग्दैन, अब आर्थिक क्रान्तिका कार्यक्रम लैजानु पर्छ।’

स्थिरता आवश्यक
एमालेले १८ सय किलोमिटर यात्रा गर्दा स्थिरता नभई मुलुक नबन्ने कुरालाई जनताले स्वीकार गरेको उपमहासचिव गुरुङ बताउँछन्। 

‘जनतालाई प्रोत्साहित गर्ने नीति तथा कार्यक्रम र स्थिर सरकारले देशलाई नयाँ ढंगले अघि बढाउन सक्छ भन्ने अधिकांशको बुझाई पायौँ,’ गुरुङले भने, ‘कतिपय झन्झटिला व्यवस्था हटाउन पर्छ।’

एमालेले केन्द्रीय पदाधिकारीलाई यात्रामा कुदाएको थियो।

अध्यक्ष ओलीले १८ दिन नै यात्रा गरे। अन्य नेताहरूले पनि उनलाई निरन्तर साथ दिए।

एमालेको संगठनलाई चलायमान गराउने यात्राको उद्देश्य थियो। 

‘एमालेप्रति आकर्षण छ भन्ने देखियो,’ उपाध्यक्ष ज्ञवालीले भने, ‘१८ दिनको यात्राबाट हामी खुशी छौँ, यसलाई टिकाउने नयाँ रणनीति बन्छ।’

‘त्यही भएर पनि प्राप्त सुझाव र समस्या सम्बोधन गर्दै जान्छौँ, जनताको साथमा पुराना दल नै रहन्छन्, हामीमाथिका गलत प्रचार खण्डित भए’, उनले थपे।

बहुमतको सरकार 
अध्यक्ष ओलीका कतिपय सम्बोधन केन्द्रीय राजनीतिसँग सम्बन्धित भएकाले त्यसले स्थानीय जनतालाई नछोएको टिप्पणी पनि भए।

ओलीले आफ्नै समस्या सम्बोधन गर्लान्, बोल्छन् भनेर रातिसम्म कुरेर बसेका जनतालाई निराश पारेको केही नेताले टिप्पणी गरे।

‘सुरुमै समस्या पहिचान गरेर त्यसको सम्बोधन गर्नेबारे नेतृत्वले बोल्नुपर्थ्यो, त्यसो नहुँदा जनताले ठ्याक्कै के हुन्छ त? भनेर विश्वास गर्न सकेनन्,’ एक नेताले नेपालखबरसँग भने, ‘हाम्रा जटिलताबारे जनताले जे सुन्न खोजेका थिए, त्यो खासै पुग्न सकेन।’
अध्यक्ष ओलीले अधिकांश भाषणमा सरकारको आलोचना गरेका थिए।

एमालेले मिसन ०८४ को तयारी गरिरहेको छ। मिसन ग्रासरुट अभियान सकेपछि दोस्रो चरणअन्तर्गत एमालेले बैतडीदेखि पाँचथरसम्म सडक यात्रा गरेको हो।

यात्रामा एमालेले सुन्तलासहितका केही उत्पादनको व्यापार राम्रै गराएको देखियो। अध्यक्ष ओलीले खोटाङको एउटा कार्यक्रममा झोलाबाट सुन्तला झिक्दै सहभागीतिर बाँडेका थिए।

नयाँ केही दलले पुराना पार्टीलाई लक्षित गरेर निशाना साँधिरहेका बेला एमालेको यो अभियानले मानिसहरुलाई गतिशील बनाएको छ। 

यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .