ad ad

राजनीति


राष्ट्रिय सभामा कुनै सिट नजित्ने भएपछि सत्तारुढ दलसँग साझेदारीको प्रयासमा एमाले

राष्ट्रिय सभामा कुनै सिट नजित्ने भएपछि सत्तारुढ दलसँग साझेदारीको प्रयासमा एमाले

सागर न्यौपाने
पुस १५, २०८० आइतबार १९:१५, काठमाडौँ

राष्ट्रिय सभामा कुनै सिट जित्ने सम्भावना नरहेपछि नेकपा एमालेले सत्तारुढ गठबन्धनका दलसँग साझेदारी प्रयास थालेको छ।

त्यसका लागि एमालेका दोस्रो तहका नेता सक्रिय छन्। 

सत्ता गठबन्धनका दलले राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने निर्णय गरिसकेका छन्। यस्तो अवस्थामा एमालेले राष्ट्रिय सभामा ८ सिट गुमाउने निश्चित छ। 

हाल ५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका १७ सांसद छन्। जसमध्ये ८ जनाको पदावधि समाप्त हुँदैछ।

त्यसो हुन नदिन एमालेले गठबन्धन दलसँग छुट्टाछुट्टै छलफल गरिरहेको छ। राष्ट्रिय सहमति जुटाएर भए पनि राष्ट्रिय सभामा केही सिट जित्ने योजना एमालेले बनाएको नेताहरु बताउँछन्।

एमालेले सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसलाई मिलेर जाने औपचारिक प्रस्ताव राखिसकेको अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले जानकारी दिए।

‘गठबन्धनकै केही दलसँग मिलेर जाने प्रस्ताव गरेका छौँ, मुख्य घटक कांग्रेसलाई आकर्षक प्रस्ताव राख्यौँ,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँहरुले प्रष्ट जवाफ दिइसक्नुभएको छैन।’

कांग्रेसभित्र पनि केन्द्रीय सदस्य शेखर कोइराला पक्षसँग एमालेका दोस्रो तहका पदाधिकारी छलफलमा छन्।

सभापति शेरबहादुर देउवा एमालेसँग मिल्न तयार नभएपछि एमालेले अर्काे बाटो अपनाएको ती नेताले बताए। ‘जोसँग सम्भावना हुन्छ, मिलेर चुनावमा जाने योजना अनुसार लागेका छौँ, औपचारिक प्रस्ताव नै राखेर मिल्न आह्वान गरेका छौँ,’ उनले थपे।

कोशीको राजनीतिलाई लिएर उपमहासचिव विष्णु रिमालले मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेको तस्बिर सार्वजनिक गरेका छन् र लेखेका छन्, ‘धेरैले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग मेरो फेसकट मिल्यो, झुक्कियो भन्नुभयो। मौकावश आज एक्कासि मुख्यमन्त्रीजी भेटिनुभयो। हामीले  हेराहेर गऱ्यौं । र, यही प्रसंग जोड्यौं। गोरखाका मा. राजेन्द्र बजगाईंले यो फोटो खिचिदिनुभयो।’ 

एमाले र कांग्रेस मात्र मिलेको खण्डमा राष्ट्रिय सभामा अन्य दलले कुनै सिट जित्न सक्दैनन्। 

त्यति मात्र होइन, शेखर पक्षले समर्थन गर्दा मात्र पनि केही स्थानमा एमालेले जित्न सक्छ। 

यद्यपि, केन्द्रीय कार्यसमितिमा सभापति देउवाको प्रष्ट बहुमत रहेकोले कोइराला पक्ष पार्टी निर्णय विपरीत जाने सम्भावना न्यून छ।

कांग्रेससँग मात्र होइन, एमालेका नेताहरु समानान्तर तवरले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग पनि छलफलमा छन्।

दुबै दलसँग मिलेर जान प्रस्ताव गरिएको एमालेका अर्का पदाधिकारीले जानकारी दिए।

‘वामपन्थी भएकोले लामै समयसम्म सहकार्य गर्नेगरी अघि बढौँ भनेका छौँ, तर उहाँहरु कांग्रेससँगको गठबन्धन छोड्न तयार हुनुहुन्न,’ ती पदाधिकारीले भने, ‘अझै आकर्षक प्रस्ताव लगेर भए पनि अन्तिमसम्म प्रयास गर्दैछौँ। उहाँहरुसँग सैद्धान्तिक सहमति भएपछि मात्र संख्या तय गर्ने कुरा हुन्छ।’

६ वर्षे कार्यकाल पूरा भएका १९ सदस्यको लागि आगामी माघ ११ गते चुनाव तोकिएको छ। 

राष्ट्रिय सभामा एमालेबाट सबैभन्दा बढी ८ जना रिक्त हुँदैछन्। यसैगरी कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २ र जनता समाजवादी पार्टी (जसपा)बाट १ जना रिक्त हुँदैछन्। यसैगरी एक स्वतन्त्रको पनि पदावधि सकिँदैछ। 

सत्ता गठबन्धनले एमालेबाट रिक्त हुने ८ ठाउँ भागबण्डा गर्दैछन्। 

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गठबन्धन कायम राखेर जाने निर्णय गरेको छ।

यो निर्णयपछि अझै सत्ता गठबन्धनसँगै मिल्ने प्रयासमा एमाले छ।

प्रचार विभाग प्रमुख समेत रहेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले गठबन्धन दलसँग छलफलको प्रक्रियामा रहेको बताए।

‘बहुआयामिक रुपमा कुराकानी भइरहेको छ,’ गौतमले नेपालखबरसँग भने, ‘सत्ता गठबन्धनभित्र पनि वार्ता र संवाद हुन्छ।

गठबन्धनभित्र सिट संख्यामा अझै सहमति नजुटेकोले एमालेले यसलाई अवसरको रुपमा लिएको छ।

‘उहाँहरुभित्र कुरा मिलिहालेको छैन, साझा उम्मेदवारी उठाउने भने पनि कांग्रेसको आन्तरिक राजनीति पेचिलो देखिन्छ,’ एमालेका अर्का नेताले भने, ‘यही समयमा राजनीति यू टर्न हुन पनि सक्छ।’

एमाले संसदीय दलका सचेतक पदम गिरी भने एक्लै चुनावी तयारीमा लागेको दाबी गर्छन्।

‘हामीलाई चुनावको नतिजा के आउँछ थाहा छ,’ उनले भने, ‘गठबन्धनसँग छलफल भए पनि उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ त्यही अनुसार थप तयारी गर्छौँ।’

राष्ट्रिय सहमति कायम गर्न सकिने एमालेको विश्वास छ।

‘तर, अहिलेसम्म गठबन्धनबाट मूर्तरुपमा प्रस्ताव आएको छैन,’ गिरीले थपे। 

केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय सभा चुनावको तयारी छलफल भइरहेको बताए।

‘अहिले देशभरको अवस्था बुझ्ने काम भइरहेको छ,’ रिजालले भने, ‘आन्तरिक छलफल र संवादबाट एउटा रणनीति बन्छ।’

गठबन्धन बलियो बन्दै गएकाले राष्ट्रिय सभाको चुनावमा एमालेको सबै रणनीति व्यर्थ हुने एमालेकै एक पदाधिकारीले ठोकुवा गरे। सत्ता गठबन्धनबीच सुमधुर सम्बन्ध रहेकाले यसपटक एमालेको केही सीप नचल्ने ती नेता बताउँछन्।

‘यसपटक हाम्रो अध्यक्षको कुनै पनि कार्डले काम गर्दैन,’ उनले भने, ‘उहाँले जहाँजहाँ हात हाल्नुभयो, जसजसलाई अवसर दिनुभयो सबैले धोका दिए, अहिले राष्ट्रिय सभामा एमाले एक्लै छ, उहाँ एक्लै लड्दै हुनुहुन्छ।’

उनले थपे, ‘कोशीमा एमालेले कांग्रेसलाई मुख्यमन्त्री बनाइदियो तर त्यसपछि एमाले नै सत्ताबाहिर जानुप¥यो। विगतमा कमल थापा र उपेन्द्र यादवलाई एमालेले काँध थाप्यो, अहिले दुवै शक्तिले साथ दिएनन्।’

एमालेले गठबन्धनसँग मिलेर जान नसके जित्ने नेतालाई उम्मेदवार बनाउने अर्काे तयारी पनि गरेको छ।

प्रभावकारी, बढी भोट ल्याउन सक्ने, सकभर साझा चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाएर भए पनि राष्ट्रिय सभा लड्छौँ,’ प्रचार विभाग प्रमुख गौतमले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .