राजनीति


भारतले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री

भारतले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री

नेपालखबर
पुस २०, २०८० शुक्रबार १०:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपाललाई भारतले दिने भनेको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने बताएका छन्। 

शुक्रबार बिहान बसेको संघीय संसद् अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग हिजो भएको सम्झौता अनुसार उताबाट प्राप्त हुने सहयोग भारतले आफूखुसी खर्च गर्न नपाउने बताएका हुन्। 

बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो। जुन सम्झौताको कतिपयले बिरोध गरेका छन्। 

बैठकमा एमाले सांसद रघु जी पन्तले २० करोड रुपैयाँ भारतले आफूखुसी खर्च गर्न पाउनेगरी भएको सम्झौता राष्ट्रिय स्वतन्त्रतालाई कमजोर पार्ने खालको भएको भन्दै विरोध गरेपछि प्रधानमन्त्रीले आफ्नो धारणा राखेका हुन्।  

‘नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने होइन। खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुनेछ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो। तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन। खर्चको प्रक्रिया छ। भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने पनि होइन।’ 

एमाले सांसद पन्तले भारतीय विदेशमन्त्री नेपाल आउनासाथ चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भन्दै भारतीय विदेशमन्त्री जयशंकर सिंहले प्रचण्डसँग विरोध जनाएको भनेर बैठकमा प्रधानमन्त्रीको धारणा मागेका थिए।

त्यसक्रममा प्रचण्डले भारतीय विदेशमन्त्रीले यस विषयमा आफूसँगको भेटमा कुनै कुरा नगरेको बताए। 

‘त्यसबारे मलाई उहाँ (जयशंकर) ले केही सोध्नु भएको छैन। मैले पनि कुनै जवाफ दिएको छैन।  कुनै पनि चिनिया प्रतिनिधि मण्डल आएको विषयमा कुरा भएको छैन। त्यो विषयमा कुनै पनि कुरा भएको होइन, यो गलत कुरा हो।’

राज्य व्यवस्था समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफलका प्रधानमन्त्री प्रचण्डलाई बैठकमा बोलाएको हो। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले विधेयकका सम्बन्धमा आफ्नो लिखित धारणा राखेका छन्। बैठक १० मिनेट जति मात्रै बसेर सकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .