राजनीति


शेखर समूहको निष्कर्ष : राष्ट्रिय सभामा चार सिट नछाड्ने, नदिए आफ्नै बटमलाइनमा अघि बढ्ने

शेखर समूहको निष्कर्ष : राष्ट्रिय सभामा चार सिट नछाड्ने, नदिए आफ्नै बटमलाइनमा अघि बढ्ने

तस्बिर : दिनेशचन्द्र थपलिया


नेपालखबर
पुस २२, २०८० आइतबार १८:१६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नेतृत्वको समूहले राष्ट्रिय सभामा चार सिट नमिलेसम्म सहमति नगर्ने भएको छ।

आइतबार विशालनगरमा महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङसहितको उपस्थितिमा बसेको शेखर समूहको बैठकले ४ सिटको बटमलाइनबाट दायाँबायाँ नहुने निष्नर्ष निकालेको हो। 

यो समूहको बैठकमा सहभागी एकजना नेता बलबहादुर केसीका अनुसार पार्टी पदाधिकारी बैठकमा त्यही कुरा राख्ने गरी विशालनगर बैठक सकिएको हो। 

शेखर समूहले चार सिटबाट दायाँबायाँ नहुने अडान राखेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्न सकेको छैन। अहिले कांग्रेसका पदाधिकारीहरू छलफलमै छन्।

‘अहिले पार्टी कार्यालयमा पदाधिकारी पदाधिकारीहरू छलफलमै छन्। हामीले विशालनगर बैठकमा आफ्नो कुरा राख्ने, सहमति भए भयो नत्र आफ्नो पोजिसन नछाड्ने निष्कर्ष निकालेका छौँ’, केसीले नेपालखबरसँग भने, ‘हाम्रो कुरा प्रष्ट छ, उचित अंशबन्डा हुनुपर्‍यो। हामीले चार सीट माग्ने कुरा हो।’ 

शेखर नेतृत्वको समूहले चार सीटमा सहमति नभए आफ्नो बटमलाइनमा अघि बढ्ने निष्कर्ष निकालेको छ। यदि संस्थापन पक्ष त्यसमा सहमति नभएमा नयाँ ढंगबाट बढ्ने रनणीति बनाउने केसीले बताए। 

शेखर-गगन समूहका नेताहरू पार्टी कार्यालयमा हुने पदाधिकारी बैठकमा प्रस्तुत हुने रणनीति बनाउन विशालनगरमा बसेका थिए। केसीले त्यसकै लागि रणनीति तय गर्न विशालनगरमा अनौपचारिक छलफलमा जुट्नु परेको खुलाए। 

आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई १० सिट दिनेगरी सहमति गरेको थियो। उक्त सहमतिपछि कांग्रेसका नेताहरू आन्तरिक भागबन्डा मिलाउन लागेका हुन्। 

कांग्रेसमा भागबन्डा मिल्न नसकेपछि दिउँसो १ बजेका लागि तय भएको बैठक दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो। तर उक्त बैठक साँझसम्म अघि बढेको छैन। 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाइँदैछ। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि (सोमबार) मनोनयन दर्ताको कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .