नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्काउट माथि राजनीति गरेको भन्दै आपत्ति जनाएका छन्।
अदालतको आदेशविपरीत नेपाल स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरेको भन्दै ओलीले आपत्ति जनाए।
स्काउटमा गठबन्धनले हार्छ भनेरै प्रधानमन्त्रीले अधिवेशन स्थगित गराएको ओलीले आरोप लगाए।
पार्टीनिकट बैङ्क, बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले स्काउटको अधिवेशन रोक्ने प्रधानमन्त्रीको आदेश स्वतन्त्र सामाजिक संस्थामाथिको ठाडो हस्तक्षेप भएको बताए।
स्काउटको संरक्षकको नाताले उनले निर्देशन दिन सक्ने भए पनि भताभुङ्ग पार्न नभई सकारात्मक काम लागि चाहिने ओलीले स्पष्ट पारे।
‘हस्तक्षेप गर्नेलाई निर्देशन भनिँदैन, विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयारी भइसक्यो, गठबन्धनले नजित्ला जस्तो भयो भनेर रोक्न पाइन्छ?’, उहाँले प्रश्न गरे।
अधिवेशनका लागि स्काउटका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू बोलाइसकेको अवस्थामा अधिवेशन रोक्नु देशकै लज्जाको विषय भएको ओलीले बताए।
पहिला पनि स्काउट भङ्ग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गराउँदै ओलीले अदालतले दिएको आदेशविपरीत प्रधानमन्त्रीले गरेको निर्देशन स्वेच्छाचारी भएको बताए।
अदालतको कामकाज यथावत् गर्न दिनु भन्ने आदेशविपरीत सरकार सम्मेलन स्थगित गर्न आदेश दिएको भन्दै उनले आलोचना गरे।
‘इज्जत बेइज्जतको केही ख्याल छैन, कांग्रेसले स्काउटको सम्पत्ति लुटेर खाइरहेको छ’, ओलीले भने।
उनले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको बताए। एनआरएनएमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गरेको उनको भनाइ छ।
Shares
प्रतिक्रिया