ad ad

राजनीति


देउवा र थापाबीच मध्यराति सहमति : गठबन्धन सरकारलाई निरन्तरता दिने

देउवा र थापाबीच मध्यराति सहमति : गठबन्धन सरकारलाई निरन्तरता दिने

नेपालखबर
फागुन ८, २०८० मंगलबार ७:३७, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच वर्तमान सत्ता गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने सहमति भएको छ। 

देउवानिकट एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार गत चुनावमा गठबन्धनबाटै मत मागेर गठबन्धनको बहुमत आएकाले वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति सभापति देउवा र महामन्त्री थापाबीच भएको हो। 

महासमिति बैठकमा महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रस्तावमा आउँदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नेगरी पार्टीलाई बलियो बनाउने सहमति भइसकेको भए पनि हाललाई सोही गठबन्धन सरकारलाई बलियो बनाउने विषयमा सोमबार मध्यराति सहमति भएको ती नेताको दाबी छ।

त्यसैका लागि सोमबार साँझ बूढानीलकण्ठमा जारी कांग्रेसको पदाधिकारी बैठक नै छाडेर सभापति देउवा र रक्षामन्त्रीसमेत रहेका उपसभापित पूर्णबहादुर खड्का बालुवाटार पुगी प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका थिए।

भेटवार्तामा कांग्रेसले महासमितिबाट त्यो प्रस्ताव पारित गरे पनि वर्तमान गठबन्धन सरकार कायम रहने कुरामा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई देउवाले आश्वस्त पारेका थिए। 

त्यसपछि वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने कुरामा महामन्त्री थापा सहमत भएको ती नेताको दाबी छ। आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने गरी सांगठनिक प्रस्तावमा देउवा सहमत भए पनि उनले तत्काललाई गठबन्धन सरकारलाई निरन्तरता दिएर अघि बढ्ने कुरामा भने महामन्त्री थापालाई राजी गराएका हुन्। 

‘महामन्त्री गगन थापाले महासमिति बैठकमा पेस गर्ने सांगठनिक प्रस्तावमा यो गठबन्धनबाटै मत मागेर गठबन्धनको बहुमत आएकाले गठबन्धनलाइ बलियो बनाउँदै लैजाने र अर्को चुनावमा कांग्रेसको एकल बहुमत ल्याउनेगरी पार्टीलाई सशक्त बनाउने सहमति भएको छ’, ती नेताले नेपालखबरसँग भने। 

ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठक अहिले बिहान ९ बजे सुरु हुने छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .