ad ad

राजनीति


कांग्रेसमा देउवाको ब्रिफिङ : मेरो चाहनाले होइन, प्रचण्डले भनेपछि सबै मन्त्री फेर्नैपर्‍यो

कांग्रेसमा देउवाको ब्रिफिङ : मेरो चाहनाले होइन, प्रचण्डले भनेपछि सबै मन्त्री फेर्नैपर्‍यो

सागर न्यौपाने
फागुन १८, २०८० शुक्रबार २०:४२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषदमा हेरेफेर हुने जानकारी आफ्नो पार्टीका पदाधिकारीहरुलाई गराएका छन्।

बिहीबार बुढानिलकण्ठस्थित निवासमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई बोलाएर देउवाले बाध्यताले मन्त्री फेर्नुपर्ने अवस्था आएको बताए।

अहिले नै मन्त्री फेर्ने नहुने अडान राखे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तत्काल फेरिहाल्ने पक्षमा रहेकाले अब रोक्न नसक्ने देउवाको भनाइ थियो। 

‘प्रचण्डले छिटो मन्त्रिपरिषद् पुनर्गठन गरौँ भनिराख्नुभएको छ, साथीहरुलाई बनाइहालियो कसरी बदल्ने? एउटादुइटा मात्र बदल्ने कुरा पनि भएन। कोही मन्त्री राम्रै काम गरिरहेका छन्,’ देउवाको भनाइ उधृत गर्दै एक पदाधिकारीले भने, ‘फेरि प्रधानमन्त्री प्रचण्डले भनिसकेपछि गठबन्धनका दलहरुमा छलफल गरेर सहमति गर्नुपर्ला।’

‘हाम्रो आवश्यकता र चाहनाले होइन, प्रधानमन्त्रीको आवश्यकताले गर्दा मन्त्रिपरिषद् हेरफेर गर्ने अवस्था हुनसक्छ है भनेर सभापतिले भन्नुभयो,’ ती पदाधिकारीले नेपालखबरसँग भने।

प्रचण्ड सरकारमा कांग्रेसबाट ९ मन्त्री छन्। उपसभापतिद्वय खड्का रक्षा र गुरुङ कानुनमन्त्री छन्। 

प्रधानमन्त्री प्रचण्डले एक हप्ताभित्र नयाँ मन्त्रीको नाम पठाउन गठबन्धन दललाई भनिसकेका छन्। 

सरकारमा रहेका मन्त्रीको कामकारबाही चित्तबुझ्दो नभएको भन्दै पुसमै मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका प्रचण्ड कांग्रेसकै कारण तीन महिना रोकिएका थिए। अहिले भने प्रचण्डले मन्त्री फेर्ने कसरत थालिसकेका छन्। 

देउवा निवासमा माओवादीसँगको सम्बन्ध र गठबन्धनको भविष्यबारे पनि छलफल भएको छ। 

‘नयाँ मन्त्री चयन, नेकपा माओवादी केन्द्रसँग छलफल र राष्ट्रिय सभा अध्यक्ष चुनावका विषयमा सहमति जुटाउने जिम्मा सभापति देउवालाई दिइएको छ। 

फागुन १५–१६ मा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रिय सभा अध्यक्षको चुनावमा उम्मेदवारी दिने निर्णय गरेपछि कांग्रेस झस्किएको छ।

माओवादीलाई बिच्किन नदिन र गठबन्धनबाट यताउता हुन नदिन आफै पहलकदमी लिनुपर्ने कांग्रेसको निष्कर्ष छ। माओवादीलाई गठबन्धनमा टिकाइराख्न शीर्ष तहबाटै वार्ता र छलफल हुनेपर्ने भन्दै त्यसको जिम्मेवारी देउवालाई दिएको छ।

गठबन्धनमा छलफल गरेर मन्त्री हेरफेरमा सहमति जुटाउने देउवाले जवाफ दिए।

‘अहिले माओवादीले भनिराखेको विषयमा के गर्ने भन्ने प्रश्न उठ्यो, सभापतिले नै मिलाउनुहुन्छ भनेर जिम्मा दिइयो,’ देउवानिकट अर्का नेताले भने, ‘सभापतिजीले माओवादीभित्र रहेको आशंका मेटाउने काम गर्नुहुन्छ।’

‘कोसीको निर्वाचन परिणाम र महासमितिको बैठकका एजेन्डालाई लिएर प्रचण्डलाई अहिलकति आशंका बढ्यो, सभापतिले यसलाई ‘कन्फिडेन्स’मा लिनुपर्छ भनेर साथीहरुले भन्नुभयो,’ ती नेताले थपे, ‘शीर्ष नेतृत्वले नै माओवादीलाई विश्वासमा लिने, विश्वास दिलाउने, आफ्नो पक्षमा परिणाम ल्याउने काम सभापतिको हो, किनकि उहाँले नै यो विषय डिल गरिराख्नु भएकाले उहाँले कुरा गर्दा प्रभावकारी हुन्छ।’

यसअघि अडानमा बस्दा पुस १० मा सबै गुमेको कुरालाई बिर्सन नहुनेमा पदाधिकारीले देउवाको ध्यानाकर्षण गराएका थिए। 

देउवाले पनि यसलाई गम्भीर लिएर विश्वासको वातावरण बनाउने भन्दै आश्वस्त पार्ने कोसिस गरे।

स्रोतहरुको अनुसार पछिल्ला दिन माओवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताबीच भेटघाट र छलफल बाक्लो भएको चर्चा कांग्रेस नेताहरुबीच भएको थियो।

त्यसबाहेक पदाधिकारीसँग महासमितिको बैठकमा प्राप्त सुझावलाई साझा बनाएर मात्र केन्द्रीय समितिमा लैजाने सहमति भएको छ। 

‘अब कसरी साझा बनाउने, को–को बसेर अन्तिम रुप दिने भनेर छलफल पनि भयो,’ ती नेताले भने, ‘आगामी फागुन २० गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने भन्नेछ।’

कांग्रेसको फागुन ७–१० मा ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री शर्माको समसामयिक राजनीतिक विषय समेटिएको प्रतिवेदन केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अनुमोदन गर्नेगरी सर्वसम्मतिले पारित गरेको थियो।

थापाको प्रतिवेदनमा आगामी चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पनि पारित भएको छ। यही विषयले सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा हलचल पैदा गरेको छ।

कांग्रेसले नयाँ रणनीति अख्तियार गरेको भन्दै माओवादीले पनि राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारी दिने निर्णय गरेको नेताहरु बताउँछन्। राष्ट्रिय सभामा अहिले माओवादी ठूलो दल हो। 

तर, बुढानीलकण्ठमा पुगेका पदाधिकारीलाई देउवाले राष्ट्रिय सभा अध्यक्ष आफैले पाउनेगरी माओवादीलाई मनाउने बताए। 

यसबारे गठबन्धन र प्रधानमन्त्री प्रचण्डसँग कुरा राख्ने बताएका छन्। 

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा नेता कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने निश्चितजस्तै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .