राजनीति


प्रचण्ड सरकार १५ महिनामा १५ पटक हेरफेर

प्रचण्ड सरकार १५ महिनामा १५ पटक हेरफेर

नेपालखबर
फागुन २७, २०८० आइतबार १३:१६, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित आइतबार २ मन्त्रीले शपथ लिएका छन्।

यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। जसपाकै नवलकिशोर साहले वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको यो १५ औँ हेरफेर हो।

प्रचण्ड सरकार १४ महिना पूरा भएर १५ औँ महिना चलिरहेको छ।

गत वर्षको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका उनले भोलिपल्ट शपथ लिएर कार्यभार सम्हालेका थिए। त्यही दिन उनले ८ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए।

त्यसबेला एमालेका विष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिएका थिए।

एमालेका दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई अनि जनमत पार्टीका अब्दुल खान बिनाविभागीय मन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री प्रचण्डले त्यसपछि माघ महिनामा मात्र तीनपटक मन्त्रीहरू थपघट र जिम्मेवारी हेरफेर गरे।

फागुन १३ मा राप्रपाले सरकार छाड्यो र उसले पाएका मन्त्रालय प्रधानमन्त्री आफैले राखेको सूचना १४ गते जारी भएको थियो। त्यस्तै १५ गते एमालेले सरकार छाडेपछि उनीहरूले सम्हालेका मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैले राखे। त्यो सूचना फागुन १६ गते राष्ट्रपति कार्यालयले जारी गरेको थियो।

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउने भएपछि एमालेले सरकार छाडेको थियो।

फागुन २५ गते राष्ट्रपतिको चुनाव हुँदा माओवादीको समर्थनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भए। 

त्यसपछि चैत १७ गते प्रचण्डले कांग्रेसलाई सरकारमा सामेल सहभागी गराए।

वैशाख लागेपछि एकै महिनामा चारपकट मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ, वैशाख ३, ५, २० र २४ गते।

त्यसपछि जेठ ९ र साउन २९ गते प्रचण्ड मन्त्रिपरिषदमा जिम्मेवारी फेरबदल भयो। 

भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघमा मन्त्रिपरिषदमा कुनै हेरफेर भएन।

फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले फेरि ‘उथलपुथल’ गराए। कांग्रेससँगको साथ टुटाएर फेरि उनी एमालेलाई सरकारमा सामेल गराए।
त्यस दिन उनले पुराना सबै मन्त्रीलाई हटाएर माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई बिनाविभागीय मन्त्री नियुक्त गरे।

फागुन २३ र २७ मा मन्त्रिपरिषद् विस्तार गरे र हाल २२ सदस्यीय भएको छ। 

योसमेत गरी प्रचण्ड सरकारमा भएको हेरफेरको संख्या १५ पुगेको छ। 

हालको मन्त्रिपरिषद्मा रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र उपेन्द्र यादव गरी ४ उपप्रधानमन्त्री भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .