राजनीति


प्रचण्डले किन तोडे कांग्रेससँगको गठबन्धन? पार्टी बैठकमा दिए यी कारण

प्रचण्डले किन तोडे कांग्रेससँगको गठबन्धन? पार्टी बैठकमा दिए यी कारण

फाइल तस्बिर


नेपालखबर
चैत २, २०८० शुक्रबार १७:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थितिको बाध्यताले सत्ता गठबन्धनमा फेरबदल गर्नुपरेको बताएका छन्।

शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीसमेत रहेका दाहालले गठबन्धन फेरबदलबारे आफ्नो धारणा राखेका हुन्। 

बैठकमा सहभागी एकजना स्थायी समिति सदस्यकाअनुसार प्रचण्डले नेपाली कांग्रेससहितको गठबन्धनमा समस्या आएको कुरा आफूले यसअघि नै राखिसकेको स्मरण गराएका थिए। 

‘परिस्थितिको बाध्यताले सत्ता समीकरणमा परिवर्तन गरेको हो। गठबन्धनमा समस्या रहेको कुरा मैले पहिले पनि स्थायी समितिमा राखिसकेको थिएँ’, उनको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘कांग्रेस महासमिति बैठकबाट समस्या बढेको थियो। काम गर्न समस्या भयो, म उकुसमुकुस अवस्थामा थिएँ। कतिपय कुरामा कांग्रेसले असहयोग गर्दै गएको थियो। मन्त्रिमण्डल पुनर्गठनमा पनि समस्या भयो।’

प्रचण्डले माघ ११ गते कोसी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले गरेको असहयोग कारण पनि विकल्प सोच्नुपर्ने अवस्था आएको ब्रिफिङ गरेका थिए। 

‘अध्यक्षले कोसीको पनि कुरा पनि बैठकमा राख्नु भयो। पुरानो गठबन्धनमा त्यही कार्यशैली अनुसार बसिरहने कि छाड्ने भन्ने भएको थियो’, दाहालले ब्रिफिङमा भने, ‘सबै खालको घेराबन्दी कांग्रेसबाट हामीमाथि भयो। कांग्रेसका मन्त्रीहरू पनि काममा बाधक भए।’

कांग्रेस महासमिति बैठकमा हिन्दु धर्मसम्बन्धी गतिविधि र त्यहाँ निर्णयले पनि विकल्प खोज्न बाध्य बनाएको उनले सुनाएका थिए। 

‘गोदावरीमा भएको कांग्रेसको महासमिति बैठकले जसरी मार्गनिर्देशन गर्‍यो। त्यसले कांग्रेससँगको सहकार्य सहज हुने देखा परेन’, दाहालले भने, ‘अस्ति स्थायी समिति बैठकमा पनि मैले भनेको थिएँ। म उकुसमुकस भइसकेँ भनेको थिएँ।’

बैठकमा गठन्धन छाड्नुको अर्को कारण प्रचण्डले तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई देखाएका थिए।

उनले अर्थमन्त्रीबाट लगातार कयौँ महिनादेखि आफूलाई असहयोग हुँदा देशको अर्थतन्त्र नै धरासायी हुने बिन्दुमा पुगेका आफू नयाँ समीकरणका लागि सोच्न बाध्य भएको बताए। 

दाहालले ब्रिफिङका क्रममा भ्रष्टाचारसम्बन्धी प्रकरणमा जोडिएर पनि तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई सरकारमा राखिरहँदा आफूलाई नैतिक संकट परेको बताएका थिए।

‘स्वास्थ्यमन्त्रीलाई भ्रष्टाचारसम्बन्धी आरोप लागिसकेपछि पनि समस्या उत्पन्न गर्‍यो। उहाँले पद नछाडिदिँदा र कांग्रेसले बचाउ गरिरहँदा असहज भयो’, दाहालले भने, ‘त्यहीबीचमा सरकार ढाल्ने कसरत पनि विभिन्न केन्द्रले गरेका थिए। अहिले पनि उनीहरू लागेका छन् तर यो गठबन्धन परसम्म जान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .