ad ad

राजनीति


खुमबहादुरको प्रशंसा गर्दै देउवाले भने : उनलाई भ्रष्टाचारको झुटो मुद्दामा फसाइयो

खुमबहादुरको प्रशंसा गर्दै देउवाले भने : उनलाई भ्रष्टाचारको झुटो मुद्दामा फसाइयो

तस्बिर : रासस


रासस
चैत १६, २०८० शुक्रबार १९:५२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन्।

दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा शुक्रबा दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुटो मुद्दामा फसाइएको दाबी गरे।

शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरूले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहेका खड्काको योगदान अतुलनीय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे।

कांग्रेसका पूर्वमन्त्री स्व खड्काको शालिक अनावरण कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, सहमहामन्त्रीद्वय किशोरसिंह राठोर, महालक्ष्मी उपाध्याय, प्रदेश सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, पूर्वजिल्ला सभापतिहरु वीरकेशरी गौतम, कीर्तिबहादुर खड्का, मोहनलाल वली, क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नम्बर १ का सभापति तथा खुमबहादुर खड्का शालिक निर्माण समिति संयोजक भेषराज पाण्डेलगायतले बोले।

वि.सं. २०७६ चैत १६ मा कामको थालनी भएको शालिक निर्माणको काममा ७१ जनाबाट सहयोग भएको शालिक निर्माण समिति संयोजक पाण्डेले बताए।

शालिक बनाउन २४ लाख सहयोग उठेकोमा २० लाख ४८ हजार खर्च भएको र बाँकी रकमबाट अधुरा काम हुने उनले जानकारी दिए।

पटकपटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेल परेका थिए।

वि.सं. २०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो। अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट खड्का दोषी ठहर भएका थिए।

दुई करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा २०६३ चैतमा पुनरावेदन गरेको थियो।

सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र रु ९४ लाख ७४ हजार एक सय बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको थियो। वि.सं. २०७४ चैत १६ गते ६७ वर्षको उमेरमा खड्काको निधन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .