आगामी वैशाख १५ मा हुने उननिर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ।
मंगलबार अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्नसमेत प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार इलाम क्षेत्र नम्बर २ मा १९ जना उम्मेदवार कायम भएका छन्।
जसमध्ये १२ जना राजनीतिक दलबाट र बाँकी स्वतन्त्र उम्मेदवार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
४१ वटा पहिचानवादी घटकको समर्थनसहित स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिं लिम्बूले मुढा चुनाव चिन्ह पाएका छन्।
यस्तै अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगा सहितको अनुहार चुनाव चिह्न पाएको पौडेलले जानकारी गराएका छन्।
दलगत रुपमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन्।
उता बझाङ प्रदेश सभा १ मा ११ जना उम्मेदवार कायम भएका छन्। इलाम २ मा एमाले उम्मेदवार सुहाङलाई साथ दिएको माओवादीले बझाङमा भने आफ्नै उम्मेदवार अघि सारेको छ।
जहाँ माओवादीबाट जनकबहादुर बुढाले टिकट पाएका छन्। यहाँ नेपाली कांग्रेसले गत असार ५ गते दुर्घटनामा ज्यान गुमाएका प्रदेश मन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेकलाई टिकट दिएको छ। एमालेले भने यहाँ दमनबहादुर भण्डारीलाई मैदानमा उतारेको छ।
Shares
प्रतिक्रिया