राजनीति


ठूला आयोजनामा मिलेर काम गर्न ऊर्जा र कृषि मन्त्रालयबीच भयो यस्तो सहमति

ठूला आयोजनामा मिलेर काम गर्न ऊर्जा र कृषि मन्त्रालयबीच भयो यस्तो सहमति

नेपालखबर
फागुन ७, २०७६ बुधबार ७:२९,

ऊर्जा, जलस्राेत तथा सिँचाइ र कृषि मन्त्रालयबीच एकीकृत र बहुउद्देश्यीय आयोजना निर्माणमा मिलेर काम गर्नेबारे छलफल भएको छ।

अन्तर मन्त्रालय समन्वयमार्फत सरकारका कामलाई प्रभावकारी बनाउने उद्देश्यले उर्जा, जलश्रोत र सिंचाइमन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालसहित दुवै मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो। ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्रीद्वय पुन र भुसालले दुवै मन्त्रालयले गर्ने साझा प्रकृतिका काममा योजना निर्माणदेखि कार्यान्वयन चरणसम्म मिलेर काम गर्दा प्रभावकारी नतिजा आउने भन्दै सोहीअनुसार अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए।

त्यस क्रममा मन्त्री पुनले कृषि उत्पादनको परम्परागत चरित्रमै बदलाब ल्याउन जरुरी रहेको र त्यसका लागि सिंचाइ आधारभूत सर्त भएकाले दुई मन्त्रालयबीच समन्वयमा काम गर्न जरुरी रहेको औंल्याए। उनले आगामी बजेटमै एकीकृत कार्यक्रम समावेश गर्ने गरी तयारी गर्न मन्त्रालयका सचिव र सिंचाइ विभागका महानिर्देशकलाई निर्देशन दिए।

‘कृषि उत्पादनको परम्परागत चरित्र बदल्ने गरी काम गर्न जरुरी छ’, मन्त्री पुनले भने, ‘बजेट र कार्यक्रममा साझा कार्यक्रम राखौं, त्यसका लागि अहिल्यैदेखि तयारी गरौैं।’ कृषिमन्त्री भुसालले कृषिको सुरु नै बिऊ र सिंचाइबाट हुने भन्दै सिंचाइ बिना कृषिको परिकल्पना गर्न नसकिने भएकाले अन्तर मन्त्रालय समन्वय जरुरी हरेको औंल्याए।

दलमा ऊर्जा मन्त्रालयबाट मन्त्रालयका योजना शाखा प्रमुख, सिंचाइ विभागका महानिर्देशक र नेपाल विद्युत प्राधिकरणका नायब महाप्रबन्धक तथा कृषि मन्त्रालयबाट मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख, कार्यक्रम महाशाखा प्रमुख तथा व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुखहरु रहने गरी संयुक्त कार्यदल गठन गरिएको छ।

कार्यदलले अन्तर मन्त्रालय समन्वयमार्फत बजेट, योजना र कार्यक्रममा कसरी एकीकृत योजना बनाउन सकिन्छ भन्नेबारे सुझाव पेश गर्नेछ।

सिंचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सिंचाइ र कृषिबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले सहकार्य जरुरी रहेको बताए। सचिव श्रेष्ठले संघीयता कार्यान्वयनमा आएसँगै सिंचाइ र कृषि दुवै मन्त्रालयअन्तर्गतका जिल्लास्थित डिभिजन कार्यालयहरुको संरचना खारेज भएकाले समन्वयको अभावमा काम गर्न जटिल भएको बताए। उच्च राजनीतिक र प्रशासनिक नेतृत्वबीच भएको छलफलले आगामी दिनमा प्रभावकारी काम हुने विश्वास उनको थियो।

छलफलमा ऊर्जा मन्त्रालयबाट मन्त्री पुन, उर्जा सचिव दिनेशकुमार थपलिया, सिंचाइ सचिव रवीन्द्रनाथ श्रेष्ठ, उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा कृषि मन्त्रालयबाट मन्त्री भुसाल र सहसचिव शवनम सिवाकोटी सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad