ad ad

राजनीति


संसद् खुलाउन ३ घन्टादेखि बालुवाटारमा वार्ता, सहमति उन्मुख भएको दाबी

संसद् खुलाउन ३ घन्टादेखि बालुवाटारमा वार्ता, सहमति उन्मुख भएको दाबी

नेपालखबर
जेठ १४, २०८१ सोमबार २१:३७, काठमाडौँ

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको टीओआर (कार्यादेश) बारे दलहरूको वार्ता सहमतिको निष्कर्षउन्मुख पुगेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्को गतिरोध अन्त्य गर्नेगरी सोमबार साँझ ६ बजेदेखि नै सत्ता र प्रतिपक्षका नेताहरू छलफलमा जुटेका छन्। 

बिहान बालुवाटारमा भएको छलफलबारे कांग्रेस नेताहरूले दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा छलफल गरेका थिए। 

लगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्ण प्रसाद सिटौला, जीवन परियार, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू बालुवाटारमा छलफल गर्न पुगेका थिए।

त्यस्तै, टीओआर कार्यदलमा सहभागी नेताहरू पनि बालुवाटारमै छन्। सोही बैठकमा सहभागी एक नेताका अुनसार, छलफल सकारात्मक दिशामा अघि बढेको छ। संक्षिप्त कुराकानी गर्दै ती नेताले नेपालखबरसँग भने, ‘छलफल सकारात्मक पथमा छ, निष्कर्ष उन्मुख हुँदैछ।’

सोमबार बिहान पनि एक चरणमा बालुवाटारमै वार्ता भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा सहभागी दुवै दलका नेताहरूले आ–आफ्नो अडानमा टसमस भएका थिएनन्।

यद्यपि कांग्रेस नेताहरू सहमति बनाएर जानेमा आजै तयार हुने वा नहुने भन्नेबारे छलफल भइरहेको छ। ती नेताका अनुसार, सकेसम्म आजै नत्र भोलि बिहानसम्म एउटा सहमतिको खाका बन्नेगरी छलफल अघि बढेको छ।

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि सहमति उन्मुख भएको जानकारी दिए। ‘हामी छलफलमै छौँ, सकारात्मक छलफल भएको छ,’ उनले भने।

यसअघि नै समिति बनाएर जाने कुरामा सत्ता र प्रतिपक्षीबीच कुरा मिलिसकेको थियो। यद्यपि टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने विषयमा कांग्रेसले अडान राखिरहेको थियो।

टीओआरमा रविको नाम उल्लेख नगर्दा उनी आबद्ध कम्पनी र सहकारीको छानबिन हुनुपर्ने कांग्रेसले बताएको थियो। 

भोलि (मंगलबार) सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्दैछ। सो बजेट पढ्नुअघि नै सहमति बनाउनेगरी प्रधानमन्त्री प्रचण्डले कसरत गरिरहेका छन्। 

बजेट ल्याउनैपर्ने बाध्यात्मक परिस्थितिकाबीच सदनबाट बजेट नाराबाजी नभइ ल्याउने पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .