राजनीति


मध्यपुरथिमि नगरपालिकामा विवाद, नगरप्रमुखले रोकेको सभा उपप्रमुखद्वारा सञ्चालन

 मध्यपुरथिमि नगरपालिकामा विवाद, नगरप्रमुखले रोकेको सभा उपप्रमुखद्वारा सञ्चालन

नेपालखबर
असार १८, २०७६ बुधबार १२:३५,

मध्यपुरथिमि नगरपालिकामा जनप्रतिनिधिको विवादका कारण बुधबारका लागि आह्वान गरिएको विशेष नगरसभा विवादित बनेको छ।

सो विशेष नगरसभा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले स्थगन गरेका हुन्। नगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालले सहमति जुटाउन नसकिएको कारणसहित विज्ञप्ति जारी गर्दै बुधबारका लागि आह्वान गरिएको विशेष नगरसभा स्थगन गरिएको जानकारी दिए।


नगरसभाका अध्यक्ष एवं नगरपालिकाका प्रमुख श्रेष्ठले नगरपालिकाको विशेष नगरसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी दिए। प्रदेश नं ३ प्रदेशसभाद्वारा जारी भएको नगरसभा सञ्चालन कार्यविधिसम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिमको परिस्थिति उत्पन्न भई नियमित रुपमा सञ्चालन गर्न बाधा पर्ने भएकाले स्थगन गरिएको स्पष्ट गरे।


नगर प्रमुखमा तत्कालीन नेकपा (एमाले) बाट उम्मेदवार भई मदनसुन्दर र वडा नं ५ का वडाध्यक्षमा अमृतमान श्रेष्ठ विजयी भएका हुन् भने एक वडाध्यक्ष नेमकिपा, एक वडाध्यक्ष स्वतन्त्र तथा अन्य सबै जनप्रतिनिधि नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएका हुन्।


नगरपालिकामा वडाध्यक्षसहित कार्यपालिका सदस्यसमेत दुई तिहाइ बहुमत रहेकाले सोही बहुमतका आधारमा बुधबार नगर प्रमुखले नगरसभा स्थगन गरे पनि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले आफ्नै अध्यक्षतामा विशेष नगरसभाको बैठक सञ्चालन गरेकी छन्।


नगरसभामा वडा नं २ का वडाध्यक्ष एवं प्रवक्ता राम थापामगरले सभामा विभिन्न प्रस्ताव राखे। उनले गत वर्षको नगरसभाले पारित गरेको एकीकृत कर खारेज गर्ने, विभिन्न क्षेत्रमा लगाइएको कर घटाउने, एकीकृत सम्पत्ति कर घटाउने, जग्गाको मूल्यांकन घटाउने, नगर प्रमुखले एकल निर्णयबाट सञ्चालन गरेको विभिन्न योजनाको छानविन गर्ने, नगर प्रमुखले नियुक्ति गरेको कमेरोटार जग्गा एकीकरण आयोजनाको प्रमुख बर्खास्त गर्ने र कार्यपालिका बैठकले निर्णय गरी नयाँ नियुक्ति गर्ने, नेपाल कोरियामैत्री अस्पतालमा छानविन गर्ने लगायतका प्रस्ताव पेश गरे।


प्रस्तावमा २० मिनेट छलफल भएपछि वडा नं ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले गत वर्ष गरेको निर्णयको प्रशंसा गर्ने जनप्रतिनिधिले यो सभामा त्यही निर्णयको आलोचना गरेको बताए। हतारमा, सस्तो तरिकाले एकपक्षीय ढङ्गले सभा सञ्चालन भएको बताउँदै एक पक्षले गल्ती गर्दा अर्को पक्षले पनि गल्ती दोहो¥याएको उनको भनाइ थियो।

नगरसभामा प्रस्तुत गरिएका प्रस्ताव बहुमतले पारित गरेको उपप्रमुख मधिकर्मीले जानकारी दिइन्। उनले नगरसभा स्थगन गरिएका बारेमा जानकारी नभएको र नगर प्रमुख नआएपछि आफैँले सञ्चालन गरेको बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad