राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गरेका छन्।
राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ गएका हुन्। उनले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम छ।
कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ। ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ।
सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने तालिका रहेको छ ।रासस
Shares

प्रतिक्रिया