राजनीति


बेइजिङमा विदेश मामिला उपमन्त्रीले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

बेइजिङमा विदेश मामिला उपमन्त्रीले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १७:३५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका वैदेशिक मामिला उपमन्त्री सुन वेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

ओलीको स्वागतका लागि चिनियाँ उपमन्त्री सुन वेइदोङका साथै नेपाली दूतावासका अधिकारीहरू पनि विमानस्थल पुगेका थिए।

जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणमा निस्किएका प्रधानमन्त्री ओली त्यहाँको स्थानीय समयअनुसार साढे ६ बजे बेइजिङ पुगेका हुन्।

चिनियाँ सकमक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (सोमबार) बिहान त्यसतर्फ प्रस्थान गरेका थिए।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका थिए। यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय वार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीले भेट गर्ने पनि कार्यतालिका छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन्। प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मंसिर २० गते स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad