प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बिहीबार बोलाएका छन्।
चीन भ्रमणबाट फर्केर आएपछि पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार, भोली साँझ ७ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।
चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताले संशय व्यक्त गरेका छन्। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन बैठकले पनि उक्त सम्झौतालाई खुलेर स्वागत गर्न सकेन।
कांग्रेसभित्रैबाट प्रश्न उठाइएपछि परराष्ट्र मन्त्रालयले मंगलबार बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरिदिएको छ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए। परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा पनि भ्रमण टोलीमा थिइन्।
यसबीचमा प्रधानमन्त्री ओलीले ३ दिन गृहजिल्ला झापा गएर बिताएका थिए। मंगलबार राजधानी फर्किए पनि फेरि बुधबार आफ्नो जन्मस्थल तेह्रथुमको आठराई गएर बिताए।
मंगलबार साँझ पार्टीको सचिवालय बैठक बोलाएका उनले त्यहाँ चीन भ्रमणबारे केही बोलेनन्। भ्रमणबारे जानकारी दिन उनले पार्टीका उपमहासचिव विष्णु रिमाललाई अह्राएका थिए।
Shares

प्रतिक्रिया