राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछाने निलम्बनमा परेका छन्।
संसद सचिवालयले सोमबार उनी निलम्बन भएको सूचना प्रकाशित गरेको हो। रास्वपा संसदीय दलका नेता समेत रहेका रवि निलम्बनमा परेपछि उक्त दल आन्तरिक छलफलमा जुटेको हो।
‘संसद सचिवालयको पत्र मैले भरखरै हेरेँ। अब कसरी अघि बढ्ने र के गर्ने भन्ने बारेमा आन्तरिक छलफलमा छौँ,’ प्रमुख सचेतक सन्तोष परियारले भने।
आइतबार उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको तीनवटा मुद्दा दायर गरेको थियो।
निलम्बन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई आइतबार नै जानकारी गराएको थियो।
सोमबार रास्वपाका प्रमुख सचेतक परियारको नेतृत्वमा केही सांसदहरूको टोलीले सभामुख घिमिरेलाई भेटेर निलम्बनको सूचना टाँस नगर्न आग्रह गरेका थिए। तर, संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले रवि लामिछाने निलम्बन भएको जानकारी दिएपछि रास्वपाका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।
यसअघि रविको निलम्बनको सूचना टाँस गरे सर्वोच्च जाने रास्वपाका नेताहरूले बताएका थिए।
Shares

प्रतिक्रिया