नेकपा माओवादी केन्द्रमा अध्यक्षबाहेक कुनै पनि पदाधिकारीले पूरै कार्यकाल चलाउन पाएका छैनन्। अध्यक्षको तजबिजी हुँदा कुनै पनि बेला उनीहरूको जिम्मेवारी बदलिन सक्छ।
फेरि माओवादीका प्रदेश इन्चार्जहरू बदलिन लागेको सो पार्टीका नेताहरू बताउँछन्।
सात भौगोलिकसहित १२ वटा प्रदेश संरचना अभ्यास गरिरहेको माओवादीले एक वर्षअघि मात्र केही उपाध्यक्ष, उपमहासचिव, सचिव र केही स्थायी समिति सदस्यलाई इन्चार्ज बनाएर प्रदेशमा पठाएको थियो।
तर, अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनीहरूको जिम्मेवारी हेरफेरको कसरतमा लागेको नेताहरूको भनाइ छ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी तोक्न सकस परिरहेका बेला केही प्रदेश इन्चार्ज फेरबदलको गृहकार्य अगाडि बढाएको उनीहरू बताउँछन्।
पुनलाई उपाध्यक्ष बनाउने भनिए पनि त्यसको निर्णय अहिलेसम्म भएको छैन। सके सबै, नसके कम्तीमा २ प्रदेश इन्चार्ज मात्र भए पनि हेरफेर गर्ने तयारी भइरहेको एक पदाधिकारी दाबी गर्छन्।
‘सम्भवतः अब बस्ने पदाधिकारी बैठकले सो निर्णय गर्नसक्छ,’ उनले नेपालखबरसँग भने, ‘सुदूरपश्चिम र मधेस प्रदेशको इन्चार्ज फेरिने कुरा छ। अन्य प्रदेशको पनि उठेको छ।’
अर्का पदाधिकारीले पनि प्रदेश इन्चार्ज परिवर्तन हुनसक्ने बताए।
‘सुदूरपश्चिम र मधेसमा नयाँ नेतृत्व पठाउने कि भन्ने चर्चा चलेको साँचो हो,’ उनले भने, ‘त्यहाँ हुनुभएका नेतालाई अन्यत्र उहाँहरूको क्षमता अनुसारको ठाउँको जिम्मा दिने कुरा उठेको छ, त्यसबारे अबको कार्यालय बैठकले निर्णय गर्न सक्छ।’
सुदूरपश्चिममा पार्टी उपमहासचिव गिरिराजमणि पोखरेल र मधेस प्रदेशमा सचिव लीलामणि पोखरेल इन्चार्ज छन्।
उपमहासचिव एवं कोसी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नेताहरूको जिम्मेवारीका विषयमा मापदण्ड बनाउनुपर्ने सुझाव आएको बताए।
‘इन्चार्ज हेरफेरदेखि नयाँ जिम्मेवारी दिने विषयमा छलफल चलेको छ,’ गजुरेलले भने, ‘तर, मापदण्ड के बनाउने? कुन तहको नेतालाई कहाँको जिम्मेवारी दिने भन्ने कुरा टुंगिएको छैन। एउटा तर्क, एउटा तहसम्मको जिम्मेवारीमा जानुपर्छ भन्ने छ। उपाध्यक्ष तहको गर्ने कि, उपमहासचिव तहको गर्ने कि, सचिव तहको गर्ने कि भन्ने छलफल चलिरहेहको छ। अर्काे तर्क, कामको हिसाबले सोच्नुपर्यो। जहाँ आवश्यक छ त्यहाँ पठाउनुपर्यो। अन्यत्र पछि मिलाउँदै जाँदा हुन्छ भन्ने छ।’
प्रदेश इन्चार्ज हेरफेर गर्न प्रचण्डले केन्द्रीय समिति बैठकमै प्रस्ताव गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए। कुनकुन प्रदेश भन्ने नखुलाए पनि नेताहरूको सुविधाका लागि जिम्मेवारी हेरफेर गर्नुपर्ने कुरा उठेको शर्माले बताए।
६ महिने विशेष अभियान सुरु गर्नुअघि नयाँ जिम्मेवारीसहित नेतालाई कार्यक्षेत्रमा खटाउन खोजेको हुनसक्ने उनी बताउँछन्।
‘साथीहरूको जिम्मेवारी यताउता गर्नुपर्ने, नयाँ जिम्मेवारी तोक्नुपर्ने कुरा त उठेकै छ। केही साथीहरू आफैँले पनि चाहनुभएको छ,’ शर्माले भने।
२०८० फागुन ६ गते माओवादीले १२ वटै प्रदेशको इन्चार्ज र सहइन्चार्ज तोकेको थियो। जसअनुसार, कोसीमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्रीकुमारी काफ्ले, मधेसमा इन्चार्ज लीलामणि पोखरेल र सहइन्चार्ज विश्वनाथ साह, बागमतीमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा इन्चार्ज छन्।
यसैगरी, गण्डकी इन्चार्जमा पार्टी सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा हरिराज अधिकारी, लुम्बिनी इन्चार्जमा सचिव चक्रपाणि खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी छन् भन् स्थायी समिति सदस्य कालीबहादुर मल्लले कर्णाली इन्चार्जको जिम्मेवारी पाएका थिए। सुदूरपश्चिम इन्चार्जमा गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगर छन्।
माओवादीले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा पार्टी उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टीबी पाठक, युरोप–अमेरिका इन्चार्जमा पार्टी सचिव सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा सचिव हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदी छन्। सम्पर्क समन्वय इन्चार्जमा उपमहासचिव मातृका यादव छन्।
जिम्मेवारी तोक्नै सकस
माओवादीले अहिलेसम्म नेताहरूको जिम्मेवारी तोक्न सकेको छैन। पटकपटक बसेको पदाधिकारी बैठकले पनि यसबारे निर्णय लिन नसकेको उपमहासचिव गजुरेल स्वीकार गर्छन्।
‘केही प्रदेशमा हेरफेर गर्ने कि पूरै सेट परिवर्तन गर्ने? यसमा अझै निष्कर्ष निस्किएको छैन,’ उनले भने, ‘जहाँ आवश्यक हो त्यहाँ मात्र परिवर्तन गरेर पार्टी चलायमान बनाउनुपर्ने प्रस्ताव पनि छ।’
माओवादीमा नेता हेरेर जिम्मेवारी दिँदा समस्या आएको गजुरेलको भनाइ छ।
‘कार्यविभाजन गर्दा व्यक्ति हेरेर होइन, कामको हिसाबले सोच्नुपर्यो। हामीले सोलोडोलो सोच्दा २०७० मा धेरै नोक्सान भयो। एकतिहाइ मात्र चुनावमा उठ्ने निर्णय गर्दा मतपरिणाममा असर गर्यो,’ उनले भने, ‘आवश्यक भएको ठाउँमा फेर्ने, नभएको ठाउँमा नफेर्ने।’
यद्यपि, नेतालाई दिने जिम्मेवारीले अब माओवादीको संगठन विस्तार हुने कि नहुने कुरा ख्याल गर्नुपर्ने उनको भनाइ छ।
‘अहिले त संगठनले ग्रासरुटमा ध्यान दिनुपर्यो। मुख्य लिडरहरू ग्रासरुटमा जानुपर्यो। माथि थुप्रिएर भएन,’ उनी भन्छन्।
तर, अध्यक्ष प्रचण्डको व्यस्तताको कारण पदाधिकारी बैठक बस्न सकेको छैन।
शनिबार र आइतबार बस्ने भनिएको बैठक पनि स्थगित भएको छ। अब सोमबार बिहानलाई बैठक डाकिएको छ।
उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले अबको पदाधिकारी बैठकले सबै नेताको कार्यविभाजन गर्ने बताए। यद्यपि, प्रदेश इन्चार्ज फेरबदल नहुने उनको भनाइ छ।
‘प्रदेश इन्चार्जसहित नेताहरूको कार्यविभाजन गर्नेबारे भोलि बस्ने बैठकमा छलफल होला,’ उनले भने, ‘अहिले नै यही भनेर कुनै ठोस भइसकेको छैन। अहिले नै हेरफेर हुँदैन होला।’
माओवादीका ३५ विभाग र ४१ वटा मोर्चा सक्रिय छन्।
Shares

प्रतिक्रिया