राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहारा चितवन सहकारीको मुद्दामा पनि धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालतले माग गरेको ५४ लाख धरौटी बुझाएर उनी बिहीबार साँझ रिहा भएका हुन्।
रविले चितवन अदालतमा पनि प्रभु बैंकको जमानत बुझाएर तारेखमा रिहा भएका छन्। रिहा भएपछि आफ्ना समर्थकलाई अदालतबाहिर उनले सम्बोधन गर्दै आफ्नो लडाइँ अझै बाँकी रहेको बताए।
‘मेरो लडाइँ अझै बाँकी छ। यो मेरो व्यक्तिगत लडाइ होइन, परिवर्तनको लडाइँ हो। सबै प्रक्रियाहरू सकौँ, त्यसपछि भन्नु पर्ने कुराहरू धेरै छन् महसुस भएका कुराहरू कति छन्, त्यसलाई थाँति राखौँ। बोल्ने समय अहिले भएको छैन’, उनले भने।
चितवन देउताको बास भएको ठाउँ भन्दै यहाँ देउताजस्ता मान्छे बस्ने उनले बताए। चितवनमा आफूलाई न्याय नहुने भन्ने कुनै प्रस्न नै नरहेको भन्दै न्याय पाउनेमा पूर्ण रुपमा विस्वस्त रहेको बताए। आफ्नो न्यायका लागि चितवनबासी बारम्बार लडेको पनि उनले बताए।
‘चितवनबासीले मलाई दुई दुई पटक निर्वाचित गरेर पठाइसक्नु भयो। तर जालझेलपुर्ण ढंगले मेरो सांसद पदलाई निलम्बन गरिएको छ’, उनले भने, ‘म चितवनबासीलाई के भन्न चाहन्छु भने यो कुरा प्रसव पीडा हो। चितवनले परिवर्तन जन्माउन खोजेको छ। परिवर्तनको गर्भधारण गरेको संकेत दुई वटा निर्वाचनमा चितवनले दिएको छ। चितवनबासीको मन रोएको छ मलाई थाहा छ। केही चिन्ता नगर्नुस् परिवर्तनको जन्म भएरै छाड्छ र चितवनले त्यसको संकेत गरिसकेको छ। व्यक्ति को हुन्छ मलाई सरोकार भएन तर चितवनले देखेको परिवर्तनको सपना चाँडै पूरा हुन्छ। कोही रुनु पर्दैन, परिवर्तन अवश्य हुन्छ।’
न्यायालयप्रति धेरै आशा र विश्वास रहेको बताउँदै उनले न्यायलय र न्यायमुर्तिहरू प्रति अत्यन्त धेरै आभारी रहेको बताए। अदालत परिसरमा उनलाई समर्थकले ढाडस दिँदै नडराउन र साथमा आफूहरू रहेको भन्दै लालपूर्जा समेत देखाएका थिए। यसबाहेक उनीविरुद्ध पर्साको सानोपाइला सहकारी ठगीमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसअघि उनले २ करोड २५ लाख धरौटी बुझाइसकेका छन्। रुपन्देहीको सुप्रिम सहकारीमा एक करोड, पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौाको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख धरौटी बुझाएका हुन्। चितवनमा थप ५४ लाख धरौटी बुझाएसँगै उनले बुझाएको धरौटी मात्रै २ करोड ७९ लाख पुगेको छ।
Shares

प्रतिक्रिया