नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाली कांग्रेस र एमालेलाई २०८४ सालसम्मै गठबन्धन कायम राख्न चुनौती दिएका छन्।
‘अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस–एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु– उनीहरू मिलून्,’शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्तिमोर्चाको भेलामा बोल्दै उनले भने,‘ हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ- तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।’
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने उनको भनाइ थियो।
‘संविधान निर्माणको बेला नै हामीले केही ’रिजर्भेसन’ राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो,’उनले भने,‘ हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसलेमात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’
जातीय मोर्चा ब्यूताएका अध्यक्ष प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको पनि बताए। जातीय मोर्चा विघटन गरेपछि वर्ग पक्षधरता कम भएको उनको भनाइ थियो।
‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्ग पक्षधरता कमजोर भयो,’ उनतले भने,‘ अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।’
कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको जिकिर गरे।
‘जातीयताको प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ। यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ। उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ,’ उनले भने,‘ राष्ट्रियता अन्ततः सामाजिक सम्बन्धको स्वरूप नै हो। यसलाई अलग अलग रूपमा बुझ्नु हुँदैन।’
पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताइन्। उनले आज जनयुद्धका उपलब्धि खोस्ने कुचेष्टा भइरहेको र त्यसविरुद्ध अभियान थाल्नुपर्ने धारणा पनि राखिन्।
Shares

प्रतिक्रिया