राजनीति


एमालेका ‘बहुमत सचिवालय सदस्य’ विद्या भण्डारीलाई पार्टीमा फर्काउने पक्षमा

एमाले नेता भन्छन् : भण्डारी नेतृत्वमा आए माधव नेपालदेखि भीम रावलसम्म फर्किन्छन्
एमालेका ‘बहुमत सचिवालय सदस्य’ विद्या भण्डारीलाई पार्टीमा फर्काउने पक्षमा

सागर न्यौपाने
फागुन ९, २०८१ शुक्रबार २१:१०, काठमाडौँ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि अध्यक्ष बन्न सक्नेगरी पार्टीको विधान संशोधन गरिसकेका छन्। ७० वर्षे उमेरहद समेत हटाइसकेका उनलाई तेस्रो कार्यकाल अध्यक्ष बन्नबाट रोक्नसक्ने नेता कोही पनि छैनन्।

दोस्रो तहका कुनै पनि नेताले उनीविरुद्ध उम्मेदवारी नदिने बताइसकेका छन्। त्यसैले अझै पार्टी हाँक्ने ओलीको चाहनालाई पूरा गर्ने वातावरण उनी निकटका नेताहरूले बनाउँदै लगेका छन्।

तर, त्यसलाई रोक्ने प्रयास भित्रभित्र चलिरहेको एमाले सचिवालय सदस्यहरू बताउँछन्। त्यसैकारण अब एमालेको नेतृत्वमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ल्याउनुपर्ने पक्षमा बहुमत सचिवालय सदस्य रहेको उनीहरूको दाबी छ।

‘उहाँलाई पार्टीभित्रका साथीहरूले तपाईंको आवश्यकता पर्‍यो, आइदिनुपर्‍यो भनिरहनुभएको छ,’ एमालेका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘जे होस् सचिवालयमा मानिस बोले पनि, नबोले पनि बहुमतको मत विद्या आउँदा ठीक हुन्छ भन्ने छ। वरिष्ठ उपाध्यक्षमा आउँदा ईश्वरजीले छोडिदिइ हाल्नुहुन्छ।’ 

भण्डारी ७ वर्ष राष्ट्रपति भइन्। त्यसअघि उनी एमाले उपाध्यक्ष थिइन्। अब उनलाई एमालेको नेतृत्वमा नल्याउने हो भने ०८४ को चुनावमा पार्टीलाई धक्का लाग्ने ती नेता बताउँछन्।

‘साथीहरूले विद्याजीलाई नेतृत्व लिन उपयुक्त हुन्छ भन्नुभएको छ, नत्र एमाले झन् कमजोर होला भन्ने चिन्ता देखिन्छ,’ ती नेताले थपे। 

भण्डारीका सचिवालयका एक सदस्यले उनको निवासमा नआएका नेताहरू निकै कम मात्र रहेको दाबी गरे।

‘वरिष्ठ, उपाध्यक्षहरू, सचिवहरूले निवासमै आएर उहाँसँग पटकपटक भेटिरहनुभएको छ,’ ती सदस्यले भने, ‘अहिलेसम्म उपाध्यक्ष अष्टलक्ष्मी शाक्य आउनुभएको देखेको छैन। उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि राजनीतिक भेटघाटका लागि आउनुभएको छैन।’

एमालेको २०७८ मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षसहित १८ सदस्यीय पदाधिकारी निर्वाचित भएका थिए। वरिष्ठसहित ७ उपाध्यक्ष, ३ उमहासचिव, ७ सचिव छन्। एमालेको नियमित महाधिवेशन २०८३ सालमा हुनु पर्ने भएपनि अध्यक्ष ओली लगायतका नेताहरू एक वर्ष अघि २०८२ सालमै गर्ने तयारीमा छन्। त्यसैले भित्रभित्रै एमाले समुदायमा महाधिवेशन लागिसकेको छ।   

भण्डारीको पक्षमा केही नेताबाहेक अरु खुलेका भने छैनन्। माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्टको धारणा सार्वजनिक भएको छैन। भण्डारीको पक्षमा लागेका एक पदाधिकारीले पनि सो कुरा पुष्टि गरे।

‘भण्डारीमा पनि पार्टी बिग्रन्छ कि क्या हो भन्ने चिन्ता र म गएर सच्याउँछु, सुधार गर्छु भन्ने देखिन्छ,’ ती नेताले थपे। 

रोक्न चाहन्छन् ओली? 
विगत केही महिनादेखि जिल्ला दौडाहा गरिरहेकी पूर्वराष्ट्रपति भण्डारीलाई फेरि राजनीतिमा सक्रिय बन्नबाट रोक्न ओलीनिकट केही नेता सक्रिय भएको एक नेता बताउँछन्। राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुँदैन भनेर हल्ला गर्नेहरू तिनै भएको उनको दाबी छ।

‘उहाँको एमालेमा आउने चाहना छ, तर, यतातिर (ओलीपक्ष) रोक्ने योजनामा छ,’ ती नेताले भने, ‘पछि कुनै कम्प्रमाइज भए अर्कै कुरा, नत्र अहिलेसम्मको स्थिति विद्याजी यता आउन खोज्ने, ओली पक्षका साथीहरू रोक्न लागिरहनुभएको छ।’

भण्डारीको समर्थन गर्ने नेताहरूको संख्या बढिरहेको उनको भनाइ छ।

‘केपीजी चारपटक प्रधानमन्त्री र दुईपटक पार्टी अध्यक्ष भइसकेको कारणले पनि अब उहाँले आराम लिइदिए हुन्छ भन्ने साथीहरूमा छ,’ उनले थपे, ‘केही साथीहरू उहाँलाई नै समातेर आफ्नो केही गर्न सकिन्छ कि भनेर लागेका पनि छन्।’

एमालेका केही नेताहरू भने ओली र भण्डारी मिलेर अघि बढ्ने दाबी गर्छन्। ओलीले नै भण्डारीलाई राजनीतिमा अगाडि सारेको उनीहरूको तर्क छ।

‘पहिलोपटक राष्ट्रपति पनि उहाँले बनाएको, दोस्रोपटक पनि अडान लिएरै बनाउनुभएको हो,’ ओलीनिकट एक पदाधिकारीले भने, ‘पार्टीमा उपाध्यक्ष बनाउँदा होस् कि मन्त्री बनाउँदा, उहाँकै जोड हो।’

अहिले फेरि एमालेमा सक्रिय हुन खोजेकोप्रति ओली पक्षका केही नेताले जोखिम महसुस गरेका छन्। तर, ओली–भण्डारीले छलफल गरेरै निष्कर्ष निकाल्ने सम्भावना रहेको उनको भनाइ छ।

‘केपीजीले हुर्काएको, अगाडि बढाएको व्यक्ति, आफैँलाई धक्का दिन खोज्यो भन्ने भित्र परेको देखिन्छ,’ ती नेताले भने, ‘तर, अब ओलीले नै कम्प्रमाइज गर्नुहुन्छजस्तो लाग्छ।’

ठूलो संगठन भइकन एमालेको आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको भन्दै थुप्रै नेताहरू असन्तुष्ट छन्। पार्टीभित्र फरक मत राख्नेमाथि विभेद गरिएको, आममानिसमा उर्जा भर्न नसकेको भन्दै कतिपय नेता निष्क्रिय छन्। 

भण्डारी आए एमालेले थप गति लिने उनीनिकट नेताहरूको भनाइ छ।

‘भण्डारी यता आउनुभनेको निष्क्रिय रहेका व्यक्तिलाई सक्रिय बनाउनु पनि हो,’ एमालेका अर्का एक पदाधिकारीले भने, ‘०८४ को चुनावमा सिट संख्या बढाउने हो भने उहाँ आउनुपर्छ। उहाँको पालामा भएका राजनीतिक परिवर्तनका विषय उठाउँदा मतदाताले विश्वास गर्ने आधार बन्छ।’ 

‘माधव नेपालदेखि भीम रावलसम्म फर्किन सक्नुहुन्छ’
भण्डारी एमालेको नेतृत्वमा आए तीन वर्षअघि विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीसँग फेरि पार्टी एकता हुनसक्ने नेताहरू बताउँछन्।

त्यतिमात्र होइन, एमालेबाट निस्किन बाध्य पारिएका डा. भीम रावल लगायत नेतालाई भित्र्याउन पनि भण्डारी नै चाहिने तिनको भनाइ छ।

‘व्यक्तिगत स्वार्थले, केपी ओलीसँग असन्तुष्ट नेता त उहाँको पक्षमा खुलेर लाग्ने नै भइहाले,’ ती पदाधिकारी थप्छन्, ‘आम मानिसले उहाँलाई विश्वास गर्ने केही आधार छन्। उहाँले पार्टीको उपाध्यक्ष, महिला संघको अध्यक्ष र पटकपटक मन्त्री भएर काम गरिसक्नुभएको छ। जुन चुनावको लागि महत्वपूर्ण हुनसक्छ।’

सोही अनुसार गएको पुसदेखि भण्डारीलाई विभिन्न जिल्ला लगिएको उनको भनाइ छ। अझै थप जिल्ला जाने कार्यक्रम बनिरहेको छ।

भण्डारीले पनि एमालेमा फेरि सक्रिय हुने चाहना लुकाएकी छैनन्। तर, एमालेको बहुमत सचिवालय, धेरै नेताले तत्काल सक्रिय हुन र नेतृत्व लिने माहोल बनाउन सुझाव दिइरहँदा पनि उनी मुखर भएकी छैनन्।

‘उहाँको तलतलसम्म सम्पर्क भइसकेको छैन नि त, त्यही भएर समग्र पार्टीमा के हुन्छ ,अवस्था अध्ययन गरिरहनुभएको होला,’ अर्का नेताले भने, ‘जिल्ला घुमिराख्नुभएको छ। अब तलको यकिन आवस्था बुझेपछि निर्णय लिन उहाँलाई सजिलो हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad