पोखराबाट भिडिओ सन्देश र काठमाडौँमा स्वागत र्याली गरेका पूर्वराजा ज्ञानेन्द्र शाहप्रति गणतन्त्रवादी दलहरू झन् आक्रामक हुन थालेका छन्। शीर्ष नेताहरू नै विगतका कुरा उठाएर ज्ञानेन्द्रविरुद्ध गालीगलौजमा उत्रिएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूको ज्ञानेन्द्रप्रतिको आक्रोशको पारो बढिरहेको देखिन्छ।
शुक्रबार (चैत १) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक पुगेर निकै आक्रामक भाषण गरे।
‘२५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए? नेपाली जनताले बिर्सेको छ? मूर्ति चोर को हो? नेपालका ठुल्ठूला मूर्ति चोरहरू अहिले राजा! भाइमारा को हो?,’ प्रचण्डले भने, ‘आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्स्यो भन्ठानेको?’
उनी यतिमै रोकिएनन्।
२०६५ मा पहिलोचोटि प्रधानमन्त्री हुँदा आफूले दरबार हत्याकाण्डको छानबिन गर्न चाहे पनि बीचमै सरकार ढलेको पनि बताए।
‘मैले त्यतिबेला ५ वर्ष सरकार चलाउन पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठधारामा ठेगान लगाउने विचार थियो,’ उनले भने।
यस्तै, कांग्रेसका नेता एवं राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले त ज्ञानेन्द्रको सेवा सुविधा नै खोस्नसक्ने चेतावनी दिए।
‘सरकारकै निर्णयले नागार्जुन निवास उहाँलाई तत्कालीन अवस्थामा बस्न दिएको छ। सरकारले चाहे अहिले त्यहाँबाट हटाइदिन सक्छ,’ फागुन २७ गते कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले भनेका थिए।
पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको भन्दै सिटौलाले अन्त्य भएको राजसंस्थाको धेरै चर्चा गर्नु आवश्यक नभएको बताए।
२०६५ जेठ १५ गते गणतन्त्र घोषणाताका गृहमन्त्री थिए सिटौला। उनले तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबारमै पुगेर भेटेका थिए।
‘मैले करिब एक घण्टा बसेर सम्झाइबुझाइ गरेर बाहिर पठाएको हुँ र मैले बुझेको छु, उहाँ कुन ताकतको मानिस हुन्?’ उनले भनेका छन्।
सिटौलाले यसो भने पनि ज्ञानेन्द्रको सक्रियतापछि दललाई तर्साइरहेको देखिन्छ। सरकारको नेतृत्व गरेको दल एमालेले चैत ४ गते दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको छ।
बैठकमा पूर्वराजाको सक्रियतापछि उत्पन्न हुनसक्ने परिस्थितिबारे छलफल र विश्लेषण गर्न लागिएको नेताहरू बताउँछन्।
समाजवादी मोर्चाले त संघर्षका कार्यक्रम नै तय गरेको छ। चैत २ गते मोर्चाले नागरिक समाज र विज्ञसँग छलफल गर्दैछ।
मोर्चाको शुक्रबार (चैत १) बसेको बैठकले संसदवादी दल र संसदबाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने निर्णय गरेको छ।
‘राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाको लागि दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत् राजनीतिक पहल लिने निर्णय गरेको छ,’ नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले भने।
यसैगरी, नेकपा एकीकृत समाजवादीको पनि शुक्रबार नै सचिवालय बैठक बसेको थियो। नेपाललाई विभाजन गर्नका लागि बाहिरका शक्तिहरू सक्रिय रहेको निष्कर्ष निकालेको छ।
‘हामीलाई विभाजित नगरिकन बाहिरका शक्तिहरूले आफ्ना नाजायज स्थार्थ पूरा गर्न सक्दैनन्, महासचिव घनश्याम भूसालले भने, ‘नेपालले अँगालेका कुनै पनि राजनीतिक प्रणालीलाई कमजोर बनाउने र नाजायज सौदाबाजीमा हामीलाई घिसार्ने शक्ति सक्रिय छ।’
गणतन्त्रवादी दल ज्ञानेन्द्रसँग जति आक्रामक छन्, राप्रपा भने थप रणनीति बुन्ने योजनामा देखिन्छ। उसले अब यही मुद्दा लिएर सडकमा जान चाहेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्न कसैले रोक्न नसक्ने दाबी गरे।
‘शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सबै घटनाक्रमले प्रस्ट पारेको छ, यसलाई यहीँ रोकेर राख्न सकिँदैन। अब अगाडि बढ्नेवालै छ। र, नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापना हुनेवालै छ। यसलाई कसैले रोक्न सक्दैन।’
Shares

प्रतिक्रिया