नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट रहेको बताएका छन्। उनले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको भन्दै वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पुरा गर्न अघि बढेको बताए।
बिहीबार काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरेकाले आयोगले छिटै पूर्णता पाउने र यो पीडितहरूले पनि न्याय पाउने उनको भनाइ छ।
‘पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट छ। पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ। कुनै छलछाम हुनेछैन’, देउवाले भने।
सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्नेमा देउवाको जोड छ।
उनले वर्तमान सरकार र राजनीतिक दलहरू पीडितलाई न्याय दिलाउने विषयमा कटिबद्ध रहेको बताए।
‘वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको छ। संक्रमणकालीन न्यायका लागि नै सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ,' उनले भने, 'अब छिट्टै नै यी आयोगहरूले पूर्णता पाउनेछन्। आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने नै छ।'
Shares

प्रतिक्रिया