राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई रिहा गर्न सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको छ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीसँग बोल्दै मिश्र र राणालाई २४ घण्टाभित्र रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।
अध्यक्ष लिङ्देनले मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए।
‘प्रदर्शनमा सहभागी हुनुभएका हाम्रा पार्टीका नेताहरू रविन्द्र मिश्र, धवल शमशेर र अधिवक्ता स्वागत नेपाललाई जुन ढंगले पक्राउ गर्ने र मुद्दामा फसाउने योजना बनाइएको छ, उहाँहरूलगायत निर्दोष मान्छेहरूलाई २४ घण्टाभित्र बिनासर्त रिहाई गर्न राप्रपाले माग गर्ने निर्णय गरेको छ, ’ उनले भने, ‘र, २४ घण्टाभित्र बिनासर्त रिहाई गरिएन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर विरोधका कार्यक्रमहरू गरेर जाने र यसलाई आन्दोलनको रुपमा उठाएर जाने निर्णय गरेको पनि म साथीहरूलाई जानकारी गराउँछु।’
शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले राति नै मिश्र र राणालगायतलाई पक्राउ गरेको थियो।
प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको, सरकारी तथा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड लगायतका गतिविधि भएपछि त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले मिश्र र राणासहित १११ जनालाई पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया