मान्छे बाल्यकालमा अबोध र किशोरकालमा आवेगी हुनु स्वाभाविक हो। त्यसैले, यो कालखण्डमा हुने गल्तीहरूको गणना हुँदैन। आफैमाथि अन्याय भएको छ भने पनि बालबालिका र किशोरकिशोरीबाट भएका सानातिना गल्तीलाई प्रबुद्ध व्यक्तिहरूले अक्सर क्षमा दिन्छन्।
राजा महेन्द्रले पञ्चायतको सुरुवातमै परराष्ट्रमन्त्री बनाएका पात्र थिए, ऋषिकेश शाह। परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउनुअघि शाहले अमेरिका र न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगमा नेपालका स्थायी प्रतिनिधि (राजदूत) को जिम्मेवारी समेत प्राप्त गरेका थिए।
झापाका केशवकुमार बुढाथोकी दरबारले रुचाएका त्यस्तै पात्र थिए। पञ्चायतको अन्तिम समय र राजा ज्ञानेन्द्रको शासनकालमा सहायकमन्त्रीको जिम्मेवारी प्राप्त गरेका ‘कांग्रेस नेता’ बुढाथोकी दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा युवराज वीरेन्द्र र ज्ञानेन्द्र शाहका सिनियर पनि थिए।
ऋषिकेश शाह र बुढाथोकी दुवैले आ–आफ्नो आत्मकथामा पूर्वराजा ज्ञानेन्द्र शाहको बाल्यकालबारे संक्षिप्त चर्चा गरेका छन्। शाहको आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’ मा उल्लेख भएअनुसार बाल्यकालमा ज्ञानेन्द्र शाह ‘तिमी (दाजु वीरेन्द्र) भन्दा पहिल्यै म राजा भएको हुँ’ भन्दै दाजु वीरेन्द्रलाई हेप्ने गर्थे।
विसं २००७ मा राजा त्रिभुवन नारायणहिटीबाट भारत प्रवासमा गएपछि मोहन शमशेरले साढे दुई वर्षे शाहज्यादा ज्ञानेन्द्रलाई राजा बनाएका थिए। यही प्रसङ्ग झिकेर पटक–पटक हेपेपछि एकपटक वीरेन्द्र ज्ञानेन्द्रको घाँटी समेत समाउने स्थितिमा पुगेको शाहले उल्लेख गरेका छन्।
‘मलाई रानी रत्नले भन्नुभएको– वीरेन्द्रले ज्ञानेन्द्रको घाँटी समातेर झण्डै मारेका थिए रे!’ स्व. शाह ‘प्रारब्ध र पुरुषार्थमा लेख्छन्, ‘के फूर्ति गर्छौ! तिमीभन्दा मअगाडि राजा भएको भनेर ज्ञानेन्द्रले भनेकाले झगडा परेको रहेछ।’
दार्जिलिङस्थित सेन्ट जोसेफ स्कुलमा पढ्दा पनि ज्ञानेन्द्र उस्तै रहेछन्, दाजु वीरेन्द्रलाई सार्वजनिक रूपमै हेप्दा रहेछन्। विसं २०११–१२ को कुनै दिन स्कुलमा कुनै सन्दर्भमा वीरेन्द्र बोल्न खोज्दै गर्दा ‘ओभरटेक’ गर्दै ज्ञानेन्द्रले भनेछन्, ‘बी शाह डजन्ट नो एनिथिङ। आई वाज किङ बिफोर हिम।’ (वीरेन्द्र शाह–सेन्ट जोसेफमा युवराज वीरेन्द्र बी शाह र ज्ञानेन्द्र जी शाहका नामले चिनिन्थे।)
राजा त्रिभुवन भारत निर्वासनमा गएपछि श्री ३ मोहन शमशेरले ज्ञानेन्द्रलाई राजा बनाएको कुरा त्यही स्कुलमा वीरेन्द्र–ज्ञानेन्द्रभन्दा सिनियर विद्यार्थी बुढाथोकीलाई जानकारी थिएन। ज्ञानेन्द्रले वीरेन्द्रलाई हेपेको देखेपछि बुढाथोकीलाई सहिनसक्नु भएछ।
आफ्नो आत्मकथामा बुढाथोकीले त्यो घटनाको चर्चा गर्दै लेखेका छन्, ‘त्यो सुन्नेबित्तिकै मलाई के झोँक चलेछ कुन्नि, ‘भइस् राजा, हामीसँग ठूलो कुरा गर्ने भनेर पर (ज्ञानेन्द्रलाई) ठेल्दी हालेँ।’
अधिकांशले बाल्यकालमा बालसुलभ ‘गल्ती’ गरिनै रहन्छन्। त्यसैले बाल्यकालीन घटनालाई त्यति ठूलो ‘मुद्दा’ बनाउनु उपयुक्त मानिँदैन।
जब युवा–प्रौढ–वृद्धावस्थामा पनि बाल्यकालीन प्रवृत्ति दोहोरिन थाल्छ, त्यसपछि भने बाल्यकालीन घटना पनि मानिसहरूको स्मरणमा आउन थाल्छन्। यहीकारण स्व. शाह र स्व. बुढाथोकीले आफ्नो आत्मकथामा ज्ञानेन्द्र शाहका उपरोक्त बाल्यकालीन घटनाहरूको स्मरण गरेका होलान्।
तर, ज्ञानेन्द्र शाह न राजा हुँदा विवादरहित बन्न सके, न त अधिराजकुमार छँदा नै विवादरहित थिए। १५ चैत्रमा काठमाडौँको तीनकुनेमा राजावादीहरूबाट मच्चाइएको ताण्डवपछि त उनले ‘असल नागरिक’ को छवि पनि गुमाएका छन्।
अधिराजकुमार छँदा काण्डैकाण्ड
अढाई सय वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना हुनुमा १९ जेठ २०५८ को दरबार हत्याकाण्ड र त्यसपछि राजा बनेका ज्ञानेन्द्र शाहको दुई–दुई पटकको ‘कू’ जति जिम्मेवार थियो, त्यत्तिकै जिम्मेवार उनको ‘अधिराजकुमार’ कालीन पृष्ठभूमि पनि थियो।
पञ्चायतकालदेखि नै उनी महेन्द्र प्रकृति संरक्षण कोषका अध्यक्ष थिए। राजतन्त्र छँदासम्म श्री ५ को सरकारको नाममा कोषको तर्फबाट विभिन्न मुलुकलाई गैँडा उपहार दिने गरिन्थ्यो।
तर, यसरी ‘उपहार’ दिइएको गैँडाको रकम भने उनी नेतृत्वको महेन्द्र प्रकृति संरक्षण कोषको नाममा लिइन्थ्यो। यसरी लिइएको रकमको हिसाब–किताब भने कोषमा हुँदैनथ्यो।
कोषका शक्तिशाली अध्यक्ष ज्ञानेन्द्र शाह थिए। कोषमा दाखिला नगरिएको त्यो रकम कहाँ जान्थ्यो, सहजै बुझिने कुरा हो। यस्तो धन्दा बहुदलीय व्यवस्था पुनर्स्थापना हुँदा पनि जारी थियो।
पञ्चायतको उत्कर्षकालमा अधिराजकुमार ज्ञानेन्द्रको नाम अनेक विवादित घटनामा जोडिने गर्थ्यो। कसैले नयाँ उद्योग स्थापना गरे उनी र भाइ धीरेन्द्रलाई कमिसनबापत सेयर दिनुपर्छ भन्ने सुनिन्थ्यो।
पुरातात्त्विक महत्त्वका मूर्तिहरूका लागि पञ्चायतकाल ‘कालरात्री’ सरह भयो। मठ–मन्दिरलगायत धार्मिक स्थलमा रहेका पुरातात्त्विक महत्त्वका सयौँ मूर्तिहरू चोरिए, विदेश पुर्याइए। कतिपय यस्ता मूर्ति अहिले नेपाल फिर्ता ल्याइँदैछन्।
मूर्ति चोरीका यस्ता घटनामा अपुष्ट आरोपहरूको सामना उनले अहिले पनि गरिरहनु परिरहेको छ। पुरातात्त्विक महत्त्वका मूर्तिहरू एकपछि अर्काे गर्दै चोरी हुँदा त्यसको अनुसन्धान र छानबिन हुँदैनथ्यो, त्यसैले मूर्तिचोरीका अपराधीहरूलाई पञ्चायत स्वर्णकाल भयो।
राजाको सक्रिय शासन, त्यति गम्भीर प्रकृतिका घटना हुँदा त्यसको छानबिन नभएपछि राजाभन्दा शक्तिशाली मानिएका ‘अधिराजकुमार’हरूप्रति औँलो सोझ्याउनेहरूलाई सजिलो हुने नै भयो।
यी त ‘पुष्टि नभएका आरोप’ भए। तर, युवाकालदेखि नै उनमा अत्याधिक ‘द्रव्यमोह’ थियो र ‘अधिराजकुमार’ हैसियतलाई उनी द्रव्यमोह पूर्तिका लागि प्रयोग गर्न हिच्किचाउँदैनथे भन्ने कुराको खुलासा तत्कालीन दरबार निकटस्थले गर्दै आएका छन्।
यस सन्दर्भमा महँगा घडी उत्पादन गर्ने स्विस कम्पनी ‘ओमेगा’ ले नेपालमा फ्याक्ट्री खोल्न खोजेको र ज्ञानेन्द्रको द्रव्यमोहका कारण यहाँ फ्याक्ट्री खोल्ने योजनाबाट त्यो कम्पनी पछि हटेको घटना पछिल्लो समय चर्चित छ।
यसको खुलासा पञ्चायतकालीन नेता नवराज सुवेदीले गरेका छन्, जसलाई निर्मल निवासले राजतन्त्र फर्काउने आन्दोलनको नेतृत्व दिएको छ।
केही वर्षअघि प्रकाशित ‘इतिहासको एक कालखण्ड’ शीर्षकको आत्मकथामा पञ्चायतकालीन नेता सुवेदीले २०२५ मा उद्योग वाणिज्यमन्त्री हुँदाको ‘ओमेगा काण्ड’ सम्बन्धी घटनाको उल्लेख गरेका छन्।
विश्वप्रसिद्ध घडी कम्पनीले नेपालमा फ्याक्ट्री खोल्ने चाहना राखेपछि अमेरिकाबाट फर्कने क्रममा तत्कालीन अर्थमन्त्री डा. भेषबहादुर थापा, अर्थसचिव डा. पुष्करनाथ पन्त र वाणिज्यमन्त्री सुवेदीले ओमेगा फ्याक्ट्रीको भ्रमणसमेत गरेका थिए र नेपालमा फ्याक्ट्री खोल्न उत्प्रेरित गरेका थिए।
‘ओमेगा’ का हर्ताकर्ताहरू पनि नेपालमा फ्याक्ट्री खोल्न तयार थिए। यसक्रममा उनीहरूले कसैसँग हिस्सेदारी नगर्ने सर्त राखे। नेपालले यो सर्त स्वीकार गर्ने हो भने एक वर्षभित्रै नेपालमा घडी उत्पादन गर्ने कम्पनी खोल्ने जानकारी पनि गराए।
गद्दीमा महेन्द्र थिए। तर, व्यापार–व्यवसायमा हात हालिसकेका अधिराजकुमार ज्ञानेन्द्रको शक्ति कम थिएन। ज्ञानेन्द्रकै द्रव्यमोहका कारण ओमेगा कम्पनी नेपालमा फ्याक्ट्री खोल्ने योजनाबाट पछि हटेको सुवेदीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
‘काठमाडौँ आएपछि अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा सेयर चाहियो,’ उनले लेखेका छन्, ‘यो कुरा मैले ठाडै अस्वीकार गरेँ। यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन।’
तिनै अधिराजकुमार ज्ञानेन्द्र हुन्, जसले आफ्नो आर्थिक स्वार्थका लागि समुद्रमा नेपालको झण्डावाल पानी जहाज चलाउने नाममा राज्यकोषको ६० करोड समेत चुना लगाइदिन खोजेका थिए।
नेपाल सरकारको समेत लगानी हुने भनिएको पानी जहाजका लागि नेपालले ६० करोड लगानी दिनुपर्थ्यो, बाँकी ऋणका लागि पनि सरकार नै ग्यारेन्टी बस्नुपर्थ्यो।
धन्न, तत्कालीन अर्थमन्त्री डा. भेषबहादुर थापा र अर्थ मन्त्रालयका सहसचिव डा. देवेन्द्रराज पाण्डेलाई यो ठगीधन्दा हो भन्ने थाहा भयो र नेपाल जोगियो।
भनिन्छ, २०४६ मा बहुदलीय व्यवस्थाको पुनर्स्थापनाप्रति पनि ज्ञानेन्द्र असहमत थिए। दोस्रोपटक गद्दीमा छँदाका उनका क्रियाकलापलाई आधार मान्ने हो भने उनीमाथिको यो आरोप पनि असत्य हो भन्न सकिने ठाउँ छैन।

दरबार हत्याकाण्ड : माओवादी निष्कर्षलाई बल
अहिलेसम्म सार्वजनिक भएका तथ्यहरूले यही कुरा बताउँछन्– दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले चलाएको गोलीबाट भएको हो।
तर, अधिराजकुमार ज्ञानेन्द्र र तत्कालीन शाहज्यादा पारस शाहको विवादास्पद छविका कारण आम नेपालीहरू दरबार हत्याकाण्ड दीपेन्द्रले गराएका हुन् भन्ने मान्न तयार थिएनन्, छैनन्।
दरबार हत्याकाण्डअघि सशस्त्र विद्रोहरत माओवादी राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाहमार्फत् दरबारसँग वार्ता गर्दै थियो। वार्तामा संलग्न माओवादी नेताहरूको दाबी अनुसार धीरेन्द्रले माओवादीसँग वार्ताका विषयमा दरबारभित्रै मतान्तर रहेको र यस विषयले दाजु वीरेन्द्र अप्ठेरोमा रहेको बताएका थिए।
भित्रभित्रै वार्ता चलिरहेका बेला दरबार हत्याकाण्ड भयो। त्यसमा राजा वीरेन्द्र परिवारसहित मारिए। धीरेन्द्रले पनि ज्यान गुमाए।
दरबार हत्याकाण्डलाई माओवादीले ऐतिहासिक आधारमा विश्लेषण गर्यो। शक्तिका लागि दरबारभित्र यस्ता घटना हुनेगरेको ऐतिहासिक तथ्यका आधारमा दरबार हत्याकाण्डपनि सत्ता–शक्तिकै लागि भएको विश्लेषण प्रस्तुत गर्यो।
माओवादीले जे निष्कर्ष निकाल्यो, त्यो खासमा ऐतिहासिक तथ्यका आधारमा गरिएको ‘राजनीतिक विश्लेषण’ थियो। त्यसमा धीरेन्द्रसँगको कुराकानीको आधार पनि थियो।
कोतपर्व वा त्यसअघि दरबारभित्र शक्तिका लागि हुने हत्याकाण्ड र १९ जेठको दरबार हत्याकाण्डबीच तात्त्विक भिन्नता छ भन्ने प्रमाणित गर्ने अवसर राजा बनेपछि ज्ञानेन्द्रलाई थियो। गद्दीमा बसेपछि सत्ता–शक्तिमोह नराखेको भए, राजनीतिक उदारता प्रदर्शन गरेको भए उनीमाथिको आरोप कमजोर हुने थियो।
तर, राजा बनेको केही दिनमै ज्ञानेन्द्रले सार्वजनिक रूपमै ‘म दाजु वीरेन्द्रजस्तो टुलुटुलु हेरेर बस्ने राजा होइन’ भन्ने घोषणा गरे। विसं २०४६ को परिवर्तनपछि सो परिवर्तनप्रति असहमत हुनेमा उनी पनि थिए भन्ने आरोपलाई उपरोक्त घोषणाले पुष्टि गर्यो।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई नारायणहिटीमा बोलाएर संसद् विघटनको सिफारिस गर्न लगाए। विघटन गरेपछि पनि उनी नै प्रधानमन्त्री हुने वचन दिए। संसद् विघटनको केही महिनापछि भने ‘चुनाव गर्न असक्षम भए’ भन्दै १८ असोज २०५९ मा प्रधानमन्त्रीबाट बर्खास्त गरे।
१९ माघ (२०६१) मा दोस्रोपटक ‘कू’ गरी देउवालाई हटाए, आफै मन्त्रिपरिषदको अध्यक्ष बने।
राजा पनि आफै, प्रधानमन्त्री सरह मन्त्रिपरिषदको अध्यक्ष पनि आफै!
ज्ञानेन्द्रमा देखिएको शक्तिको यो लालसाले ‘दरबार हत्याकाण्ड पनि कोतपर्वजस्तै शक्तिका लागि भएको हो’ भन्ने विश्लेषणलाई पुष्टि गर्न सघायो।
गद्दीमा बसेपछि राजा ज्ञानेन्द्रले एकपछि अर्काे गर्दै जस्तो राजनीतिक कदम चाले, उनका ती गतिविधि ‘दरबार हत्याकाण्डमा ज्ञानेन्द्रको हात छैन’ भन्ने तर्क गर्नेहरूलाई झापड थिए।
उनी गद्दीमा बसेपछि माओवादीसँग दुईपटक वार्ता त भयो। तर, उनी संविधान सभाका लागि तयार नहुँदा ती वार्ताहरू असफल भए, युद्ध थप विस्तार भयो। दरबार हत्याकाण्ड अघिसम्म सशस्त्र विद्रोहमा दुवै पक्षबाट मारिनेहरूको संख्या १५ सय रहेकोमा २०६३ मा युद्धविराम हुँदासम्म त्यो संख्या बढेर १७ हजार पुग्यो।
संविधान सभामा जानैपर्ने रहेछ, दरबार पनि छाड्नुपर्ने रहेछ। संविधान सभा र गणतन्त्रको माग हुनासाथ स्वीकार गरिदिएको भए उनीमाथिको ‘अनुदार’ छविको दाग मेटिन्थ्यो। शक्तिका लागि दरबार हत्याकाण्ड गरेको भन्ने आरोप पनि कमजोर हुन्थ्यो।
नेपालको राजतन्त्रको चरित्र मूलतः निरंकुश नै हो। तैपनि वीरेन्द्रको नरम स्वभावका कारण (राजा वीरेन्द्र र ज्ञानेन्द्रका सैनिक सचिव विवेक शाहले ‘मैले देखेको दरबार’ मा भने आफ्नो जीवनकालका अन्त्यमा राजा वीरेन्द्र पनि कुनै कदमको योजनामा रहेको उल्लेख गरेका छन्) राजतन्त्र जनचाहना अनुसार प्रजातान्त्रिक तबरले अघि बढ्नसक्छ भन्ने सन्देश जाँदै थियो।
तर, वीरेन्द्रले निर्माण गर्न खोजेको त्यो छवि ज्ञानेन्द्रले पाँचवर्षे गद्दीकालमा ध्वस्त पारे। अधिराजकुमार छँदा उनीमाथि लागेका आरोप गलत थिए भन्न सकिने स्थिति रहेन। ‘राजदरबार हत्याकाण्ड शक्तिका लागि भएको थिएन’ भन्नेहरूको मुखमा राजा ज्ञानेन्द्रका हर्कतहरूले बुझो लगाइदिए।
अर्थात् ‘दरबार हत्याकाण्ड सत्ता र शक्तिका लागि भएको नयाँ कोतपर्व हो’ भन्ने माओवादी दाबीलाई ‘पुष्टि’ उनकै हर्कतहरूले गर्न खोजे।
उनकै यस्ता हर्कतहरूका कारण राजतन्त्रको अन्त्य भयो।
गद्दीमा बसेपछि उनको पदीय हैसियत मात्र अपग्रेड (अधिराजकुमारबाट राजा) भएन, नकारात्मक छवि पनि अपग्रेड भयो। पहिले ‘अनुदार’ भनेर चिनिन्थे, पाँच वर्षे शासनकालमा ‘निरंकुश शासक’ को छवि बन्यो।
अधिराजकुमार छँदा ‘द्रव्यमोही’ छवि थियो। राजा बनेपछि त्यो पनि अपग्रेड भएर सत्ता र शक्तिका लागि जे पनि गर्नसक्ने शासकको छविसमेत बन्यो।

असल नागरिकको छवि पनि ध्वस्त
केही वर्ष अघिसम्म राप्रपा नेता पशुपति शमशेरले गुनासो गर्थे, ‘राणाकालमा पनि विकास–निर्माणका काम नभएका होइनन्। तर, आफूलाई राम्रो देखाउन २००७ पछिका राजाहरूले राणाहरूलाई बदनाम मात्र गर्ने काम गरे। ‘जहानियाँ शासन’ भन्ने नाममा राणाकालमा भएका राम्रा काममाथि नियोजित रूपमै दरबारले पर्दा लगाउने काम गर्यो।’
चन्द्र शमशेर वा जुद्ध शमशेरका सन्ततिहरूलाई सोध्ने हो भने कतिपयले पक्कै भन्नेछन्, ‘अहिलेको शासनभन्दा त बरु राणाशासनै सही थियो।’ मल्लकालमा निर्माण भएका मठ–मन्दिरलाई आधार मानेर तिनका सन्ततिले ‘शाह वंशमा भन्दा त बरु मल्लकालमै देशको विकास भएको थियो’ भन्लान्।
यस्तोमा सत्ता लुछाचुँडीका कारण दलहरूप्रति निराशा बढेको बेला अहिले ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा अलिक चर्काे स्वरमा लाग्नु के अनौठो कुरा हो र?
तर, यो नाराले ज्ञानेन्द्र शाहलाई यसरी भ्रमित गरेको रहेछ कि, गणतन्त्र स्थापनापछि आफ्नो प्रतिष्ठा किन बढेको थियो, त्यसको कारण नै बिर्सन पुगे।
यसबीचमा बढेको उनको प्रतिष्ठाको कारण नागरिकका रूपमा उनले निर्वाह गरेको भूमिका हो। गणतन्त्रपछिका १६ वर्ष उनी ‘असल नागरिक’ हुन् जस्ता लाग्थे।
गणतन्त्रपछि ठूला राजनीतिक दलहरू सत्ता खिचातानीमा व्यस्त थिए। पूर्वराजा शाह भने मठ–मन्दिर गए र मुलुकको धार्मिक संवेदनशीलतासँग आफूलाई एकाकार गरे। बाढीप्रकोपका बेला राष्ट्रिय कोषमा चन्दा दिए। आम जनतासँगको भेटघाटलाई बाक्लो बनाए। रेस्टुरेन्टहरू पुगेर परिवारका साथ नाचगान गरे।
विशिष्ट नागरिकका रूपमा निर्वाह गर्नुपर्ने कर्तव्य यिनै थिए, जो उनले गरे। बुझ्नुपर्ने कुरा के थियो भने राजाका रूपमा शासनकाल वा ‘अधिराजकुमार’ कालप्रति मानिसहरू आकर्षित भएकाले उनको प्रतिष्ठा बढेको होइन, ‘असल नागरिक’ जस्ता लागेकाले बढेको हो।
देशमा एउटा यस्तो जमात सदैव छँदैछ, जो राजतन्त्र छँदा पनि ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँथ्यो। उनी यस्तै जमातको बहकाउमा लागे।
दुर्गा प्रसाईंले जस्तो जुलुस त राणाशासन अन्त्यपछि भरत शमशेरले पनि निकाल्थे, खुकुरीसहित– जसलाई ‘खुकुरी दल’ भनिन्थ्यो। गोर्खा परिषदले २०१५ को निर्वाचनमा काठमाडौँ र वरिपरिका अधिकांश सिट कब्जा गरेको थियो।
जसरी खुकुरी दलको प्रदर्शन र काठमाडौँवरपर गोर्खा परिषद्को विजयले राणाशासन फर्काएन, दुर्गा प्रसाईंको उद्दण्डता र राप्रपाले केही हजार मानिस सडकमा उतार्दैमा राजतन्त्र फर्कन सक्दैन भन्ने वास्तविकता पूर्वराजा शाहले बुझ्न सकेनन्, सकेका छैनन्।
‘असल अधिराजकुमार’ र ‘असल राजा’ का छवि त बनाउन सकेनन् नै, भरत शमशेरको खुकुरी दल र गोर्खा परिषदबाट पाठ सिक्न नसक्दा ज्ञानेन्द्रको ‘असल नागरिक’ को छवि पनि ध्वस्त भएको छ।
‘असल ज्ञानेन्द्र’ कहिले बन्लान्, जबकि उनी जीवनको उत्तरार्धमा पुगिसकेका छन्!
Shares

प्रतिक्रिया