त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाए।
प्रधानमन्त्री कार्यालयका कर्मचारीले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पठाए। बरालले आफ्नै सचिवालयका कर्मचारीमार्फत प्रधानमन्त्रीको सचिवालयमा राजीनामा पत्र पठाएका थिए।
पत्र बुझाएको १४ दिनपछि आज बुधबार ओलीले बरालको राजीनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
त्रिविका उपकुलपतिको राजीनामा प्रधानमन्त्रीले गरे स्वीकृत
सल्लाह नगरी एक्कासि राजीनामापत्र बुझाएपछि ओली बेखुस थिए। यद्यपि, बरालको राजीनामा स्वीकृत नगरी उनलाई काममा फर्काउन ओलीले विभिन्न माध्यमबाट प्रयास गरेका थिए।
उनले शिक्षामन्त्री एवं सहकुलपति विद्या भट्टराई, त्रिविकै रेक्टर खड्ग केसी र केदारप्रसाद रिजालमार्फत उनले यो प्रयास गरेका थिए।
ती माध्यमहरू काम नलागेपछि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई यथार्थ बुझेर जानकारी गराउन भनेका थिए।
श्रेष्ठले प्रधानमन्त्रीकहाँ गरेको ब्रिफिङअनुसार, उनले बरालसँग धेरैपटक सम्पर्कका लागि प्रयास गरे। बल्लतल्ल २ पटक टेलिफोनमा सम्पर्क भयो। र, ती दुवैपटक बरालले राजीनामामा आफू अडिग रहेको र उक्त पत्र आफ्नै हातले लेखेको जानकारी गराए।
बरालले स्वास्थ्य समस्यालाई कारण देखाउँदै पदबाट राजीनामा दिनुपरेको र काममा फर्किन नसक्ने जानकारी गराए।
'राजीनामा नै गर्दा पनि सल्लाह गरेर दिएको भए हुन्थ्यो। सचिवालयतिर आएर राजीनामा फाल्दिएर जानुभयो भन्ने गुनासो त थियो नै। सकेसम्म निरन्तरता दिनू भन्ने पनि थियो,' प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, 'राजीनामा पत्र फिर्ता लिनका प्रयासहरू पनि भएका थिए। उहाँले स्वास्थ्यका कारण सक्दै सक्दिनँ भन्नुभयो। त्यसपछि आज स्वीकृत भयो।'
ओलीले विश्वविद्यालयको कामलाई मिलेर अघि बढाउने भन्दै राजीनामा नदिन सन्देश पठाएको सचिवालयको भनाइ छ। तर बरालले प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई स्वास्थ्यका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएको बताइएको छ।
Shares

प्रतिक्रिया