काभ्रेको बनेमा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर फिल्म स्टुडियोको लागि ९ ठेकेदार कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ। चलचित्र विकास बोर्डका अनुसार आवेदन दिएका १४ कम्पनीमध्ये ९ कम्पनीलाई छनोट गरिएको हो।
यी कम्पनीको योग्यता र मापदण्ड हेरेर वैशाख ३ गते एक कम्पनीले ठेक्का पाउनेछ। यसपछि अत्याधुनिक इनडोर स्टुडियोको काम अघि बढ्नेछ।
ठेकेदार कम्पनीको टुंगो लाग्ने बित्तिकै शिलान्यास कार्य अघि बढ्ने बोर्डको तयारी छ।
बोर्डले काभ्रेको बनेपा नगरपालिका वडा नं. १० र १३ मा निर्माण गर्न लागिएको सुटिङ स्टुडियोका लागि माघ २७ गते आवेदन खुला गरेको थियो। राष्ट्रिय पत्रिकामार्फत ‘इ-बिडिङ’ बोलपत्र आह्वानमा विभिन्न निर्माण कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेक थिए।
प्राप्त प्रस्तावमध्ये मूल्यांकन गरी ९ वटा कम्पनीको प्रस्तावलाई प्रभावकारी ठहर गर्दै बोर्डले उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको हो। बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने स्टुडियो विगत केही वर्षदेखि योजनाको रूपमा थियो। तर, अहिले बोर्डको सक्रियतामा काम अघि बढेको हो।
गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकले स्टुडियो निर्माणका लागि दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो। बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको थियो।
आर्थिक २०८०–८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो। ३९ करोड बजेट रहेको यो निर्माण सन् २०२६ भित्रै पूरा गर्ने लक्ष्य छ।

Shares

प्रतिक्रिया