इजरायलसँग युद्धरत प्यालेस्टिनी अतिवादी संगठन हमासले मंगलबार (२ वैशाख २०८२) मा एक नयाँ भिडिओ सन्देश जारी गर्यो। भिडिओमा हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको परिवारका सदस्यहरूलाई सम्बोधन गरेको थियो। बीबीसीका अनुसार सन्देशमा ‘गाजामा इजरायली आक्रमण जारी रहने हो भने बाँकी रहेका बन्दीहरू कफिन (शव राख्ने बाकस) मा फर्कने’ चेतावनी दिइएको थियो।
इजरायल–हमास युद्धसँग नेपाल पनि अप्रत्यक्ष रूपमा जोडिएको छ। २० असोज २०८० (७ अक्टोबर २०२३) मा इजरायलमाथि गरेको हमलामा हमासद्वारा अपहरित २५१ मध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि एक छन्। अज्ञात स्थितिमा रहेका विपिनको जीवन सुरक्षित राख्न पहल गर्नु यतिबेला नेपालको पहिलो कर्तव्य हो, उनको रिहाइको पहल गर्ने सबैभन्दा महत्त्वपूर्ण काम त छँदैछ।
हमासको पछिल्लो धम्कीपछि विपिनको जीवन सुरक्षाका लागि सरकारको तर्फबाट भने कुनै कदम समेत चालिएको छैन। खासमा गाजामा इजरायलले आक्रमण सुरु नगरोस् भनेर हमासले उपरोक्त भिडिओ सन्देश जारी गरेको हो। गाजा क्षेत्रमा हुने आक्रमणले विपिन लगायतका बन्दीहरूको जीवन खतरामा पार्छ नै। तर, नेपालले भने विपिनको यकिन स्थितिको जानकारी र रिहाइ सहज हुनेगरी शान्तिवार्ताको अपिलसमेत गर्न सकेको छैन।
जानकारी अनुसार २० असोजको हमासको आक्रमणबाट अपहरितमध्ये अझै ५९ जना उसको कब्जामा छन्। कब्जामा रहेकामध्ये पनि ३५ जनाको मृत्यु भइसकेको र २४ जनामात्र जीवित रहेको विश्लेषण इजरायलले गर्दै आएको छ। नेपाली विद्यार्थी विपिन जोशी जीवितको सूचीमा छन्। तर, उनी ‘स्थिति जानकारी नभएका’ बन्दीको सूचीमा छन्।
जीवितको सूचीमा रहेका २४ बन्दीमध्ये विपिन र थाइल्यान्डका नातापोङ पिङ्ग्सामात्र विदेशी नागरिक हुन्। त्यसो त, इदान अलेक्ज्यान्डर नामका २१ वर्षे युवा पनि विदेशीको सूचीमा राखिएको छ। इजरायलमा जन्मेप नि परिवार अमेरिकामा बसोबास गर्ने भएकाले उनी अमेरिकी–इजरायली हुन्। इजरायली सेनामा कार्यरत उनी ड्युटीमै रहेका बेला हमासको अपहरणमा परेका थिए।
केही दिनअघिसम्म अलेक्ज्यान्डर जीवित रहेको भिडिओ सार्वजनिक भएको थियो। तर पछिल्ला इजरायली आक्रमणका कारण उनलाई कब्जामा राख्ने लडाकुहरू सम्पर्कविहीन भएको हमासको स्पष्टीकरणपछि इजरायलमा हङ्गामा मच्चिएको छ। उनी कहाँ थिए र कसरी लडाकुहरू सम्पर्कविहीन भए भन्दै इजरायलले दबाब बढाएपछि हमासले गाजामा आक्रमण गरिए सबै बन्दीहरू कफिन (मृत अवस्था) मा फर्कने चेतावनी दिएको हो।
विपिनको रिहाइ-प्रयासमा नेपालका दुई चुक
अहिले हमास र इजरायल बीचैमा भंग भएको युद्धविरामलाई फेरि निरन्तरता दिने विषयमा वार्तामा छन्। नेपालले आफ्नो कूटनीतिक सक्रियता बढाउने र अपहरित आफ्ना नागरिकको सुरक्षित रिहाइको पहल गर्ने यस्तै अवस्थामा हो।
जानकारहरूका भनाइमा इजरायलसँगको सुमधुर सम्बन्धलाई पनि ख्याल गर्दै यतिबेला नेपालले युद्धको अन्त्य र शान्ति स्थापनाको अपेक्षाका साथ विज्ञप्ति जारी गर्न सक्छ, जसले हमास समक्ष ‘नेपाल र नेपालीहरू हाम्रा विरोधी होइनन्’ भन्ने सन्देश जानेछ।
वार्तामा युद्धविराम अवधिभर रिहा हुने बन्दीहरूको आदानप्रदान सम्बन्धी समझदारी हुन्छन्। त्यसैले, नेपालले इजरायल–हमास वार्तामा विपिनको रिहाइलाई पहिलो प्राथमिकतामा राख्न यसपटक इजरायलसमक्ष जोडदार अनुरोध पनि गर्न सक्छ।
तर, विपिनको रिहाइको सन्दर्भमा सरकारको क्रियाशीलता पछिल्लो समय शून्यजस्तै देखिएको छ। तर, सम्भवतः सरकारलाई गाजामा फेरि आक्रमण भए सम्पूर्ण बन्दीहरूको स्थितिबारे हमासले दिएको चेतावनीबारे जानकारी समेत छैन।
विपिनको रिहाइका लागि प्रधानमन्त्रीकै तहबाट निरन्तर संवेदनशीलता र सक्रियता देखिनुपर्ने हो। तर प्रम केपी शर्मा ओलीको सक्रियता विगत एक महिनायता खासै अनुभूत गर्न सकिएको छैन। ७ चैत्रमा उनले विपिन रिहाइका सन्दर्भमा टर्कीका राष्ट्रपति रसेप तैयप एर्दाेगान र त्यसअघि २८ फागुनमा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग फोनवार्ता गरेका थिए।
हमासलाई नैतिक समर्थन गरिरहेकाले विपिनको रिहाइका लागि टर्कीमार्फत् दबाब दिन माघ तेस्रो साता इजरायली पक्षले नेपाललाई अनुरोध गरेको थियो। इजरायली विदेश मन्त्रालयले तेलअबिबस्थित नेपाली राजदूतावासमार्फत् आफूहरूको तर्फबाट पनि विपिनको रिहाइका लागि दबाब दिइएको उल्लेख गर्दै नेपाल र टर्कीका कार्यकारी प्रमुख तहमा नै यस विषयमा कुराकानी भए विपिनको रिहाइका लागि दबाब पुग्ने सन्देश दिएको थियो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलका अलावा हमासप्रति सहानुभूति राख्ने मुलुकहरू कतार, इजिप्ट, टर्की लगायत मुलुकका समकक्षीहरूलाई फोन गरी विपिनको रिहाइको पहलमा सघाउन अनुरोध गरेकी थिइन्। परराष्ट्रमन्त्रीको स्तरबाट भएका यी पहलहरूले परिणाम नदिएको स्थितिमा इजरायलले प्रधानमन्त्रीकै तहबाट सम्बन्धित मुलुकका कार्यकारी प्रमुखलाई अनुरोध गरेर हमासमाथि दबाब बढाउन अनुरोध गरेको थियो।
Shares

प्रतिक्रिया