राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्थाका विरुद्ध बोल्नेहरुका लागि तह लगाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन्।
‘सरकारले यो वर्ष नयाँ एउटा कुरा चाहीँ ल्याएको रहेछ,’ शाहीको भनाइ छ, ‘जब यो व्यवस्था र लुटतन्त्रविरुद्ध बोल्नेहरुलाई तह लगाउने व्यवस्था नेपालको नीति तथा कार्यक्रममा अहिलेसम्म इतिहासमा आएको छैन। त्यो पहिलो पटक आएको छ।’
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने जनआवाज देखेर सरकार तर्सिएको समेत टिप्पणी गरे।
युवाहरुको रोजगारीको विषय नै नआएको शाहीको भनाइ छ।
शाही उनले भनेः
युवाहरुको रोजगारीको विषय वस्तुनै आएन। अहिले सबैभन्दा ठूलो समस्या यही भयो। विशेष गरेर आन्तरिक सुरक्षाका कुरा, रोजगारीका कुरा आउनुपर्थ्यो यतिबेला केही पनि आएन। हुबहु छ, सुगा रटाइ छ।
सिधा भाषामा भन्दा पुरानै ढर्रामा भएको कागजको खोस्टा जस्तो छ। सरकारले यो वर्ष नयाँ एउटा कुरा चाहीँ ल्याएको रहेछ। जब यो व्यवस्था र लुटतन्त्रविरुद्ध बोल्नेहरुलाई तह लगाउने व्यवस्था नेपालको नीति तथा कार्यक्रममा अहिलेसम्म इतिहासमा आएको छैन। त्यो पहिलो पटक आएको छ।
त्यसैले म भन्छु-अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिन्छ भन्या जस्तो सरकार तर्सिएको देखियो। किन भने लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनका लागि नीति तथा कार्यक्रममा ल्याएको छ। भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नयाँ नियम बनेर आएको छ।
यो चाहिँ विल्कुनै नयाँ हो। किनभने भ्रष्टाचारको विरुद्धमा जनताले आवाज उठाउने कुरालाई पनि निस्तेज पार्ने भनेर २ नम्बर पेजमा लेखेर राखिएको छ। त्यो चाहिँ नीति तथा कार्यक्रममा नआउनु पर्ने कुरा, तर विडम्बनाका साथ भन्नुपर्छ राष्ट्रपतिलाई जानकारी बिना प्रधानमन्त्रीले पढ्न लगाए।
Shares

प्रतिक्रिया