नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की नियुक्त भएका छन्।
यस्तै, रजिस्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन्।
उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति सिफारिस समितिको सिफारिसको आधारमा परिषद तथा कुलपतिबाट ऐनको प्रावधान अनुसार गरिएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी)ले विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको हो।
सार्वजनिक सूचना मार्फत प्राप्त आवेदनहरूमध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारहरूलाई संक्षिप्त सूचीमा समावेश गरी कार्यपत्र प्रस्तुतिकरण र अन्तर्वार्ता सम्पन्न गरेको थियो। सोही आधारमा समितिले सर्वोत्कृष्ट उम्मेदवारको नाम सिफारिस गरेको जनाएको छ।
२०८१ कार्तिकमा संघीय संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपाल विश्वविद्यालय ऐन २०८१ अनुसार, विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ।
कुलपतिको छनोट संरक्षक परिषदका सदस्यहरू मध्येबाट संरक्षक परिषदले गर्ने प्रावधान अनुसार यसअघि नै परिषदले एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीलाई विश्वविद्यालयको पहिलो कुलपति छनोट गरिसकेको छ।
नेपाल विश्वविद्यालयका संरक्षक परिषदका पदेन बाहेकका अन्य सदस्यमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. बिमला राई पौडयाल, लक्ष्मीदेवी पाण्डे, ई. लाल कृष्ण के सी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन्।
अन्तरविधात्मक अवधारणा अनुसार विविध संकायमा उच्च शिक्षाको अध्ययन हुने सार्वजनिक तथा गैर नाफामुलक प्रकृतिको नेपाल विश्वविद्यालयले उच्च गुणस्तरीय अनुसन्धानमुलक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै सक्षम, जिम्मेबार, सिर्जनशिल, उद्यमशील र प्रतिस्पर्धी जनशक्ती उत्पादन गरी राष्ट्र निर्माणमा योगदान पुयाउने लक्ष्य राखेको छ।
विश्वविद्यालयले सन् २०२६ (विसं २०८३) को शरद सत्रदेखि अन्तरविद्यात्मक अवधारणा अनुसार विज्ञान, मानविकी सूचना प्रविधि लगायतका विषयहरूमा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ
Shares

प्रतिक्रिया