राजनीति


राजामहाराजाहरूले देशलाई विश्वकै गरीब राष्ट्रमा दर्ज गरे : प्रचण्ड

राजामहाराजाहरूले देशलाई विश्वकै गरीब राष्ट्रमा दर्ज गरे : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८२ सोमबार १७:२४, सुर्खेत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयमा सरकारले गरेका जनविरोधी गतिविधिबाट जनतामा देखिएको असन्तुष्टिलाई राजावादी र प्रतिगामी शक्तिहरूले दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन्।


सुर्खेतमा सोमबारबाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले राजा–महाराजाहरूले देशलाई विश्वकै गरीब राष्ट्रमा दर्ज गरेको समेत दाबी गरे।

‘चैत्र १५ गते काठमाडौंमा गरिएको समाजवादी मोर्चा र माओवादी केन्द्रको संयुक्त प्रदर्शनले राजावादीहरूको बेलुन फुटायो,’ प्रचण्डले भने, ‘यी तिनै राजा–महाराजाहरू हुन् जसले जनतालाई शताब्दीयौँ शोषण गरे। देशलाई विश्वकै गरीब राष्ट्रमा दर्ज गरे। आफ्नै वंशको हत्यारा पत्ता लगाउन कुनै जागर देखाएनन्। उनीहरूले जनताको रक्षा गर्न सक्छन् भनेर कसरी विश्वास गर्ने?’

उनले संविधानसभा, १२ बुँदे समझदारी, र जनयुद्धका विभिन्न मोर्चाको स्मरण गर्दै भने, ‘गणतन्त्र स्वतः आइपुगेको होइन, जनताले लडेर ल्याएको हो। त्यो त्याग र बलिदानको मूल्यलाई कसैले भुल्न मिल्दैन।’

प्रचण्डले माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको उल्लेख गर्दै दलित, महिला, मधेसी, थारू, मुस्लिम र आदिवासी जनजातिलाई समेट्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताए।

‘हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरूप चाहन्छौं,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली खर्चिलो, अपारदर्शी र जनविरोधी छ। यसले जनताको प्रतिनिधित्व होइन, पैसाको चलखेललाई संस्थागत गरिरहेको छ।’

प्रचण्डले माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुने बताउँदै भने, ‘हामी ७७ वटै जिल्लामा पुग्दैछौं। समाजवादी आन्दोलन फेरि सशक्त रूपमा अघि बढ्छ। समाजवादी गणतन्त्रको बाटो छाडिंदैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad