प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संकट र त्यसका कारण बहराइनमा रहेका नेपाली श्रमिकहरुमा पर्न गएको समस्याबारे त्यहाँका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफसँग फोन संवाद गरेका छन्।
‘कोभिड–१९का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें,’ प्रधानमन्त्री ओलीले शनिबार ट्विटमार्फत् जानकारी दिएका छन्, ‘त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।’
यसैगरि अन्य मुलुकका सरकार प्रमुखहरुसंग पनि संबाद जारी राख्ने प्रधानमन्त्रीले बताएका छन्।
बहराइनमा एकैपटक ९ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार नै समाचार प्रकाशित भएको थियो।
योसँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। यसअघि त्यहाँ ३ नेपालीलाई कोरोना संक्रमण भइसकेको छ।

प्रतिक्रिया