राजनीति


निजामती सेवा विधेयकको विरोधमा सिंहदरबारमै कर्मचारीको प्रदर्शन

निजामती सेवा विधेयकको विरोधमा सिंहदरबारमै कर्मचारीको प्रदर्शन

नेपालखबर
जेठ ११, २०८२ आइतबार १३:४१, काठमाडौँ

प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही प्रावधानप्रति असहमति जनाउँदै निजामती कर्मचारीले सिंहदरबारमै प्रदर्शन गरेका छन्। विधेयकमा रहेका वृत्ति विकास, सेवासुविधा र अन्य प्रावधानमा असन्तुष्टि जनाएका कर्मचारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन्।

निजामती कर्मचारी युनियनका प्रतिनिधिले विधेयकमा कर्मचारीको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्‍टता रहेको र सेवासुविधा कटौती गर्ने प्रावधान राखिएको बताएका छन्।

नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले आफूहरूले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र १० वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने माग राखेको बताए।

‘आज नेपाल निजामती कर्मचारी युनियनले ट्रेड युनियन सञ्जालका ११ बुँदे मागहरूको सम्बन्धमा एउटै मुद्दा बोकेर आजसम्म हिँडेको अवस्था छ। हाम्रा ११ बुँदे मागहरूमा हामीले कर्मचारीको वृत्ति विकासका कुराहरू गरेका छौँ। त्यसमा हामीले भनेका छौँ पाँच वर्षमा एक तह र र दश वर्ष नाघेकालाई एक श्रेणी बढुवा गर्ने कुरा राखेका छौँ। हिजो शाखा अधिकृतले पाँच वर्षमा खुला प्रतिस्पर्धा गर्न दिने प्रावधान सरकारको अकर्मण्यताका कारण सात वर्ष राखिएको छ,' उनले भने, 'खबरदार त्यसलाई पाँच वर्ष कायम गरियोस् भनेर म नेपाल सरकार र राज्य व्यवस्था समितिसँग अनुरोध गर्न चाहन्छु।'

उनले कर्मचारीहरूले अन्तरप्रदेश सरुवाको माग गरेको पनि बताए। 'हामीले अन्तरप्रदेश सरुवाको माग गरेका छौँ। अहिले मेचीको मान्छेले दार्चुलामा नियुक्ति लिएको छ। त्यस्ता मान्छेले एक पटक आफ्नो घर जान पाउने कि नपाउने?,' उनले भने, 'स्थानीय तहमा रहेका प्रदेशका सबै साथिहरूको अन्तरप्रदेश सरुवाको व्यवस्था गरियोस्। परिभाषाका कुराहरू पनि छन्। हिजो एउटै ढोकाबाट नियुक्ति लिएका कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा समेट्नुपर्छ भन्ने पनि हाम्रो माग हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad