नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गरेका छन्।
विश्व वातावरण दिवसको अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै उनले नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषिप्रधान मुलुकमा वातावरणमैत्री जीवनशैली विकास गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए।
तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको मुलुकमा प्लास्टिकजन्य प्रदूषणको असर गम्भीर बन्दै गएको प्रचण्डले उल्लेख गरे। उनले भने, ‘प्लास्टिकको प्रयोग कम गर्न र पुनःप्रयोगलाई प्राथमिकता दिन, वातावरणमैत्री जीवनशैली विकास गर्न र वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा आग्रह गर्दछु।’
आजको आवश्यकता वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा खबरदारी गर्दै सक्रियता बढाउनु रहेको अध्यक्ष प्रचण्डको भनाइ छ। ‘हिमाल, हिमशृङ्खला र हिमाली जनजीवन जोगाउन, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने छ’, उनले भने।
सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहर व्यवस्थापन जटिल चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै प्रचण्डले प्लास्टिकजन्य प्रदूषण आजको प्रतिस्पर्धी पुँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम भएको धारणा राखे।
‘प्लास्टिकजन्य प्रदूषण वातावरणीय सन्तुलन बिग्रनुका साथै जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीमा दीर्घकालीन असर पु¥याइरहेको छ, त्यसैले यो समस्या समाधान गर्न सबै सरोकार भएका निकाय एकजुट भएर समन्वय गर्नु जरुरी छ’, उनले भने।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय सुरक्षासम्बन्धी विषयवस्तुलाई नीति निर्माणको मुद्दा बनाउनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असर, क्षतिपूर्तिलगायत जलवायु न्यायका विषयमा दृढतापूर्वक आवज उठाउँदै आएको स्मरण गरे।
पर्वतीय मुलुकको समस्या, हरित ऊर्जा, जलवायु अनुकूलन रणनीति र वातावरणमैत्री नीतिहरूलाई केन्द्रमा राख्दै नेपाललाई हरित विकासको मार्गमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। आज ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसका संसारभर मनाइँदैछ।

Shares

प्रतिक्रिया