राजनीति


कांग्रेसको निर्णयः संकटमा सरकारलाई साथ दिने, अनियमिततामाथि औँलो उठाउने (भिडियाे)

कांग्रेसको निर्णयः संकटमा सरकारलाई साथ दिने, अनियमिततामाथि औँलो उठाउने (भिडियाे)

नेपालखबर
चैत २५, २०७६ मंगलबार ९:३६,

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने बताएको छ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लड्न सरकारलाई प्रर्याप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरुको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताए। बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ। त्यस्तै, बैठकले पीपीई, भेन्टीलेटर, परीक्षण किट लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताए।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण रुपले घचघच्याउने सरकारले परीक्षणको दायरा व्यापक रुपमा बढाएर जानुपर्ने बैठकले आवश्यकता महसुस गरेको छ। सरकारलाई त्यसका लागि अपिल गरेको छ। पीपीई, परीक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीहरुको अप्रर्याप्तता जे छ त्यसलाई चाँडोभन्दा चाँडो सरकारले जुन प्रकृयाले हुन्छ व्यवस्थापन गर्नलाई आजको बैठकले अपिल गरेको छ। सरकारको कमिकमजोरीहरुको सन्दर्भमा औँल्याउने तर अहिलेको बेलामा सरकारमा सँगै नरहेर पनि सरकारलाई संकटमा साथ दिन सकिन्छ। सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने भावनाका साथ नेपाली कांग्रेस पार्टीले सरकारलाई हरसम्भवले सघाउने भन्ने निर्णय पनि आजको बैठकले गरेको छ।’

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई पनि मानवीय भावनाले काम गर्न बैठकले आग्रह गरेको उनले बताए। बैठकले लकडाउन ठूलो जोखिमबाट बच्नका लागि भएकाले सबैलाई ढाडसका साथ उभिन आग्रह समेत गरेको छ।

कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानबिन गर्न बैठकले माग गरेको समेत प्रवक्ता शर्माले बताए। पीपीई, परिक्षण किट लगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्य भन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर गरिएको उनले बताए। ल्याइएका स्वास्थ्य सामग्रीहरु प्रयोग गर्न उचित नहुने स्वास्थ्यकर्मीहरुले बताएको उल्लेख गर्दै गम्भिरतापूर्वक लिएको उनले बताए।

उनले भने, ‘स्वास्थ्य सामग्री खरिदमा भएको जे अनियमितता छ, जे भ्रष्टाचार छ, त्यसलाई छानबिन गर्ने र कारबाही गर्ने भन्ने कुरा पनि नेपाली कांग्रेस पार्टीले सरकारलाई, सम्बन्धित निकायलाई अपिल गर्ने भन्ने पनि निर्णय गरेका छौं। सँगसँगै यहाँ दोहो-याउन चाहन्छु सरकारबाट हुने यस बिचमा कुनैपनि अनियमिततामा औंला ठड्याउने तर फेरिपनि सबैलाई सरकारलाई सम्पूर्ण रुपले साथ दिएर हरसम्भव प्रतिपक्षले सघाउने र हर नागरिकले सरकारले निर्माण गरेका रणनीतिहरुलाई, सम्बन्धित निकायले बनाएका रणनीतिहरुलाई साथ दिएर संकटमा सबै एकठाउँ उभिने भन्ने निर्णय पनि यो बैठकले गरेको छ।’

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठेरोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ। त्यस्तै ज्यालादारी श्रमीकहरुलाई राहत प्रयाप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ। बैंकबाट २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गर्नेहरुलाई कम्तिमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनुपर्ने, २० लाख भन्दा माथिको ऋण लिएकाहरु, पर्यटन व्यवसायीहरुको ब्याजदरमा छुट दिनुपर्ने लागयतको व्यवस्था गर्न समेत माग गरेको छ। कृषि क्षेत्रमा काम गरेकाहरुलाई ढाडस दिने विषयमा समेत बैठकले सरकारलाई आग्रह गरेको प्रवक्ता शर्माले बताए।

कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समुह गठन गर्ने निर्णय समेत गरेको छ। पार्टीले गर्दै आएको सचेतनाको काममा विज्ञ समुहले परामर्श दिएको आधारमा निर्णय गर्दै जाने समेत प्रवक्ता शर्माले बताए।

उनले भने, ‘पदाधिकारीको बैठकले एउटा विज्ञ समुह निर्माण गर्ने, यो सन्दर्भमा विषयगत रुपले एउटा विज्ञहरुको समुह निर्माण गर्ने र र पार्टीले अहिलेसम्म जुन रुपमा सचेतनाको सन्दर्भमा कार्य गरिरहेको छ सरकारलाई सुझाव दिने दवाव दिने सरकारलाई सघाउने सन्दर्भमा जे कार्य गरिरहेको यो सन्दर्भमा अव विज्ञ समुह निर्माण गरेर विज्ञ समुहहरुको परामर्शमा थप यसलाई आफ्नो कार्यलाई व्यवस्थित बनाउने भन्ने पनि बैठकले निर्णय गरेको छ।’

पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वाचित भएका र उम्मेदवार भएकाहरु, पार्टीको जिल्ला कार्य समितिको नेतृत्वदेखि टोलसम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानवीय भावनाका साथ काम गर्न निर्देशन दिएको समेत उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad