राजनीति


माओवादीको स्पष्टीकरण: हामी तर्सिएर दुई बुँदे सहमति गरेका होइनौँ, लेनदेन भएको छैन

माओवादीको स्पष्टीकरण: हामी तर्सिएर दुई बुँदे सहमति गरेका होइनौँ, लेनदेन भएको छैन

नेपालखबर
असार १, २०८२ आइतबार १५:२७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणपछि अवरुद्ध प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयमा सत्तापक्षसँग भएको दुई बुँदे सहमतिबारे स्पष्टीकरण दिएका छन्। 

माओवादीले गरेको दुई बुँदे सहमतिबारे चौतर्फी आलोचना भइरहेको बेला आइतबार प्रतिनधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिनेक्रममा उनले पार्टीका नेता अग्नि सापकोटाको मुद्दासँग माओ‌वादीले सम्झौता गरेको आरोपप्रति कुनै सत्यता नभएको बताएका हुन्। 

पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो समाधान गर्न एक महिनाको समयसीमा निर्धारण भएको भन्दै आफूहरू भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको दाबी गरे।  उनले भने, 'निष्पक्ष रूपमा छानबिन हुनुपर्छ हाम्रो माग छ। अहिले देखिएको कुरा गम्भीर छ छानबिन हुनुपर्छ तर यो अहिले मात्र होइन विगतमा पनि भएको छ।’

यसअघि माओवादीले पनि गृहमन्त्रालय सम्हालिसकेको र सोहीकारण तर्सिएको भनेर प्रश्न उठेको भन्दै यसबारे पनि उनले जवाफ दिए। 'होइन माओवादी तर्सिएको छैन। आफ्ना नागरिकलाई भिजिट भिसा लगाएर लाने र मानव तस्करी गर्ने, नागरिकले त्यहाँ दुख पाउने र राज्यले केही गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न हामी तयार छौँ। सरकार तयार भएको छ,’ उनले भने, 'दुई बुँदे सहमति गर्दा पूर्व सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको प्रसङ्गहरू जोडेर माओवादी तर्सियो वा लेनदेन गर्‍यो भनेजसरी प्रचार भएको छ। त्यसो होइन कुनै लेनदेन भएको छैन। अग्नि सापकोटाको मुद्दा अदालतमा रहेका कुरा हुन्। यद्यपि पूर्णपाठ आएपछि त्यसको धारणा बनाउँछौ। त्यसैले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दा कुनै लेनदेनको विषय होइन।'

उनले माओवादी गलेर सहमति गरेको भन्ने हल्लाप्रति भने, 'माओवादी गलेको कुरामा सत्यता छैन यसमा भ्रम नरहोस्।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने मागसहित रास्वपा भने आज पनि सदनमा विरोधमा उत्रिएको छ। रास्वपाका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad