नेकपा एमालेले दिवंगत नेता मदन भण्डारीको सम्मानमा स्थापना गरेको संस्था छ– मदन भण्डारी फाउन्डेसन। यसले हरेक वर्ष मदनको जन्मदिन असार १४ गते विविध कार्यक्रमका साथ मनाउँदै आएको छ। त्यसमा दिवंगत भण्डारीकी पत्नी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदै आएका छन्।
फाउन्डेसनका पूर्वअध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार काठमाडौँको भृकुटीमण्डपस्थित पुरानो राष्ट्रिय सभागृहको सभाहलमा भएको ७२ औँ मदन जयन्तीको कार्यक्रममा भण्डारी प्रमुख अतिथि थिइन् भने एमाले अध्यक्ष ओली विशिष्ट अतिथि बनाइएका थिए।
तर, गत वर्षको ७३ औँ मदन जयन्तीको कार्यक्रम भिन्न बन्यो। एमाले मुख्यालयसमेत रहेको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा कार्यक्रम राखिएको थियो।
सो कार्यक्रममा भण्डारी सहभागी भइनन्, ओली मात्र पुगे। भण्डारी भने काभ्रेमा फाउन्डेसनले राखेको अर्काे कार्यक्रममा प्रमुख अतिथि बनेर सम्बोधन गर्न पुगिन्।
अहिले एमालेमा फर्किएर फेरि सक्रिय राजनीति गर्न तारतम्य मिलाइरहेकी भण्डारीका लागि काभ्रेमा भएको त्यही कार्यक्रम ‘टर्निङ प्वइन्ट’ भएको नेताहरू बताउँछन्।
त्यसयताको एक वर्षमा जतिजति भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा बढ्दै छ, उति नै उनी एमालेका उपल्लो तहका पदाधिकारीदेखि तल्लो तहका कार्यकर्तासम्मको मन जित्ने प्रयासमा देखिन्छिन्।
एमालेबाटै सक्रिय राजनीति गर्ने घोषणा गरेर देश दौडाहामा खटिएकी भण्डारीले सोही अनुसार नेताहरू परिचालन समेत गरिरहेको नेताहरूको भनाइ छ। एमाले विधानबाट केही समयका लागि निलम्बन गरिएको ७० वर्षे उमेर हदको व्यवस्था कायम गराउन नेताहरूले जोडबल गरिरहनुको मुख्य कारण यही हो। तर, ओली उमेर हद नराख्ने मनस्थितिमा पुगिसकेका छन्। किनकि, उनी फेरि एमालेको नेतृत्व गर्न चाहन्छन्।
अब भदौमा हुने विधान महाधिवेशनमा यो विषयमा निकै रस्साकस्सी हुने नेताहरू बताउँछन्।
उमेर हद राखेर ओलीलाई रोक्ने अनि आगामी महाधिवेशनमा एमालेको नेतृत्व गर्ने योजना बनाइरहेकी भण्डारीका लागि विधान महाधिवेशन महत्त्वपूर्ण छ।
‘अब २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय समिति बैठकमा उमेरहद र दुई कार्यकालको विषयमा छलफल हुन्छ,’ एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने, ‘विधान महाधिवेशनमा विधान संशोधनको कुरा कसरी ल्याउनुहुन्छ, त्यसमै रहेर कुरा होला।’
त्यसो त ओलीसँग निकट सम्बन्ध बनाएरै भण्डारी आफ्नो योजना सफल पार्न सकिन्छ भन्नेमा पनि छिन्। यद्यपि, उनको तयारी भने एमालेको तल्लो तहसम्म पुग्नेगरी नै भइरहेको छ।
त्यही भएर भण्डारीले एमालेको सदस्यता समेत नवीकरण गरिसकेकी छन्।
‘परिस्थिति राम्रै छ। अगाडि बढ्ने स्थिति बनिरहेको छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘उहाँले बोलेपछि नेताहरू खुल्छन् भन्ने लाग्छ।’

सचिवालय बैठकमै उठ्यो कुरा
एमालेको असार ११ गते बसेको सचिवालय बैठकमा विद्या भण्डारी सक्रिय हुन लागेको विषयले प्रवेश पायो। एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीलाई सचिवालय सदस्यहरूले प्रश्न गरेका थिए।
‘उहाँ एमालेमा आउँछु भनेपछि विधानले रोक्ने कुरा छैन। त्यस्तो विधान ल्याएर पार्टीले रोक्न पनि मिल्दैन। राज्यको संविधानले पनि रोकेको कुरा छैन। नलेखेको कुरा हाम्रो विधानले कसरी रोक्न मिल्छ होला त,’ बैठकमा उठेको विषय उद्धृत गर्दै ती पदाधिकारीले नेपालखबरसँग भने, ‘विभिन्न रूपले सडकमा बजारमा कुरा उठिरहेको छ। यो कुरा न रोक्न मिल्छ, न रोक्न उपयुक्त हुन्छ भन्ने छ। उहाँ कसरी आउने एउटा कुरा भयो, आउने मान्छेलाई रोक्न मिल्दैन। आउने, नआउने व्यक्तिको कुरा हो, आए रोक्न मिल्दैन भनेर प्रधानमन्त्रीले भन्नुभयो।’
असार ३ गते साँझ प्रधानमन्त्री ओली भेट्न भण्डारी बालुवाटार पुगेकी थिइन्। सो भेटमा भण्डारीले आफू एमालेको राजनीति गर्ने खुलेर बताएको उनी निकट नेताहरूको भनाइ छ।
तर एमालेका उपाध्यक्ष गुरु बराल भने ओली र भण्डारीलाई छुट्टाछुट्टै बनाउने केही नेताको प्रयास सफल नहुने बताउँछन्।
‘ओली र विद्या भण्डारी एकै सिक्काका दुई पाटा हुन्,’ बरालले भने। फाउन्डेसनका पूर्वअध्यक्ष पाण्डेको भनाइ पनि उस्तै छ।
‘केपी ओलीजीको मञ्जुरीबिना विद्याजी सक्रिय राजनीतिमा आउने र एमालेको अध्यक्षता लिने कुरा सम्भव छैन। उहाँहरू अहिलेसम्म पनि आफ्नो पोजिसनमा हुनुहुन्छ,’ उनी भन्छन्, ‘जबजका विषयमा उहाँहरूको फरक भनाइ छैन। केही अवसर नपाएका नेता साथीहरूले एउटा एउटा बोकेर आफ्नो रोटी सेकाउन चर्का कुरा गरेको हो।’
‘ओलीकै सामु राजनीतिमा सक्रिय भएको उद्घोष गर्नुहुन्छ’
भण्डारी र ओली यसपटक एउटै कार्यक्रममा सहभागी हुँदै छन्। असार १४ मा नेपाल राष्ट्रियसभामा ७४औँ मदन जयन्ती मनाइँदै छ।
कार्यक्रमका प्रमुख अतिथि ओली छन् भने भण्डारीलाई विशिष्ट अतिथि बनाइएको फाउन्डेसनका पूर्वअध्यक्ष पाण्डे बताउँछन्।
उनका अनुसार अध्यक्ष ओलीले अहिलेसम्म फाउन्डेसनका कार्यक्रम छोडेका छैनन्। भ्याएसम्म र नेपालमा भएसम्म सहभागी हुने गरेका छन्।
‘गएको वर्ष विद्या भण्डारी र केपी शर्मा ओलीसँगै हुनुभएन, यसवर्ष उहाँहरू दुवैजना उपस्थित हुनुहुन्छ,’ पाण्डेले भने, ‘परार सालको कार्यक्रममा केपी ओली प्रधानमन्त्री हुनुहुन्नथ्यो, प्रतिपक्षी दलको नेता मात्र हुनुहुन्थ्यो, त्यही भएर हामीले भण्डारीलाई प्रमुख अतिथि बनायौँ, यसवर्ष ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, भण्डारीजी पूर्व राष्ट्रपति हुनुहुन्छ। अहिले उहाँहरू दुबै हुँदा ओलीजी प्रमुख अतिथि, भण्डारीजी विशिष्ट अतिथि त्यसरी मिल्छ।’
७४ औँ मदन जयन्तीको कार्यक्रममा भण्डारी–ओली सँगै राखेर पार्टीका नेतालाई सन्देश दिन खोजेको पाण्डे बताउँछन्।
तर, अर्का एक नेताका अनुसार मदन जयन्तीका दिन भण्डारीले महत्त्वपूर्ण राजनीतिक सन्देश दिने तयारी गरेकी छन्।
‘अध्यक्ष केपी शर्मा ओली उपस्थित भएको कार्यक्रममै उहाँले आफू एमालेको राजनीतिमा सक्रिय भएको उद्घोष गर्ने योजना बनाउनुभएको छ,’ ती नेताले थपे।
त्यसबाहेक भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा लिएका केही सुविधा समेत फिर्ता गर्न लागेको उनी निकट स्रोतको भनाइ छ।
‘सरकारी तबरबाट पाइएको केही सुविधा समेत त्यागेको घोषणा गर्दै हुनुहुन्छ, अहिले त्यसकै लागि परामर्शमा हुनुहुन्छ,’ स्रोतले भन्यो।
हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्ष उषाकिरण भण्डारी छिन्। उनी भण्डारीकी जेठी छोरी हुन्।
Shares

प्रतिक्रिया