नेकपा एमालेले जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ।
पार्टी विस्तारको महत्त्वपूर्ण अंगको रूपमा रहेको संगठन विभागको बैठकले एमालेले सञ्चालन गरेको जराकेन्द्रित अभियानले आमकार्यकर्ता पनि चलायमान भएको निष्कर्ष निकालेको हो।
संगठन विभागका सचिव माधव ढुंगेलले आज एक विज्ञप्ति जारी गर्दै गत वर्षको माघदेखि चैतसम्म सञ्चालन भएको वडाकेन्द्रित पार्टी निर्माण अभियान (जरा अभियान) का कारण पार्टी गतिविधि बढेको, स्थानीय संरचना चलायमान भएको, मातहतका अधिकांश पार्टी कमिटीका अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ।
‘जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको छ। समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशनहरु भएका र उनीहरु क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ,’ ढुंगेलले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘जरा अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको महसुस भएको छ।’
माघदेखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन भएको पति एमालेले जनाएको छ।
८५ प्रतिशत वडाका अधिवेशन भएका र करिब १७ हजारमध्ये १० हजारभन्दा बढी टोल कमिटीहरू गठन गरिएको संगठन विभागको दाबी छ।
विभागले महाधिवेशन तथा अधिवेशनहरूमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहरूलाई अविलम्ब जिम्मेवारी दिनका लागि पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ।
‘जरा अभियान जस्तै अभियान लिएर जनताको घरघर सम्म पुग्ने र जनसेवा गर्ने काममा निरन्तरता दिनुपर्ने आवश्यकता गहिरो गरी महसुष गरियो’ ढुंगलले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा २३ वटा जनसंगठनका महाधिवेशन सम्पन्न भएका, पार्टीका ७७ जिल्लामध्ये ४९ वटामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ।
पार्टीका आसन्न विधान महाधिवेशनका सन्दर्भमा विधान संशोधन र संगठनात्मक दस्तावेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई संगठनात्मक प्रतिवेदन र आवश्यक विवरण बुझाउन पनि आग्रह गरेको छ।
यसैगरी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा बनाउन ब्यवस्थित र योजनाबद्ध ढंगले अघि बढ्ने पनि बैठकको निर्णय छ।
‘पार्टीका कोर भ्यालुज स्थापित गर्न, पार्टीलाई डिजिटलाइज गर्न, प्रणालीमा अभ्यस्त गराउन विशेष अभियान चलाउने प्रस्ताव पनि पारित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टी सदस्यहरूमा एमालेका बारेको आधारभूत जानकारी परीक्षण गर्नका लागि पार्टी सदस्य वितरणपूर्व अनिवार्य रूपमा परीक्षा गर्ने, मतदाताको ६ प्रतिशत पार्टी सदस्य संख्या बनाउने प्रस्ताव पारित गरेको छ।
यसैगरी समुदायसँग जनसंगठन अभियान सञ्चालन गर्ने,सबै तहका कमिटीका लघु प्रशिक्षण आयोजना गर्ने,जिल्लामा एमालेको प्रोफाइल तयार गर्ने, दुई पुस्ता सँगसँगै कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।
बैठकले आगामी विधान महाधिवेशनका लागि संसोधन प्रस्तावहरु मर्यादित भाषामा पठाउने सबै पार्टी कमिटीहरुलाई निर्देशन पनि गरेको छ।
Shares

प्रतिक्रिया