आज बिहान बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा कात्तिक १७ गते हुने रुपन्देही ३ को उपनिर्वाचनबारे प्रारम्भिक छलफल भएको छ।
सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले उक्त जानकारी दिएका हुन्।
आजको बैठकमा बालकृष्ण खाण पनि सहभागी भएका थिए।
रुपन्देही ३ मा उनको सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा केसीले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन। सम्भावना ककसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला। तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित हुनुहुन्छ।’
कांग्रेस पदाधिकारी बैठकमा पार्टीका तर्फबाट रहेका मन्त्रीहरू पनि सहभागी थिए।
तर मन्त्री फेरबदलका विषयमा कुनै छलफल नभएको जिकिर केसीले गरे।
बैठकमा नेता शेखर कोइराला पनि सहभागी भएका थिए।
रुपन्देही-३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ।
त्यसैले उक्त पद पूर्तिका लागि कात्तिक १७ गते उपनिर्वाचन गर्न लागिएको हो।
Shares

प्रतिक्रिया