अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ।
अन्य निकायमा प्रत्येक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने शून्य देखिएको हो।
सोमबार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियारका सचिव नारायण शर्मा दुवाडीले अहिलेसम्म बेरुजु नरहेको जानकारी दिए।
कानुनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनै पनि बेरुजु नरहने उनको भनाइ छ।
‘कानुनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो। इमान्दारीतापूर्वक कानुनको परिपालना गरौं। बेरुजु रहन्न,’ उनले भने, ‘सबै बेरुजु भ्रष्टाचार नभए पनि भ्रष्टाचारको सुरुआत हो। कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन्।’
उनका अनुसार बेरुजु फर्स्योट गर्न कानुनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो।
कमजोर कारबाही प्रणाली, बेरुजु फर्स्योट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फर्स्योटमा समस्या पारेको उनको भनाइ छ।
सचिव दुवाडीका अनुसार औचित्य पुष्टि नहुने गरी अनेक शीर्षकमा बजेट राखिने भएकाले पनि बेरुजु बढेको हो।
Shares

प्रतिक्रिया