नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जाशीले भूमि विधेयक भूमिहीनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधवारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गरेका हुन्।
विधेयक स्पष्ट रुपमा नआउँदा भूमिहीनको नाममा विचौलियाहरूले घुसपैठ गर्नसक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेको बताए।
उनले संविधानले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाईलाई भूमि उपलब्ध गराउने कुरा स्पष्ट रुपमा भनेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताए।
उनले भने, ‘हाम्रो संविधानले नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन देउ भनेको छ। तर वास्तवित पीडितले यो अधिकारबाट वञ्चित भएको अवस्था छ। अहिले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको नाममा विचौलियाले फाइदा उठाउने हुन् कि भन्ने चिन्ता छ।’
भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्नेगरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया